सुदुरपश्चिम प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षा (JSR) को तयारी तीब्र

  वास खबर सम्वाददाता  934 पटक हेरिएको

धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको संयुक्त क्षेत्रगत समीक्षा – Joint Sector Review (JSR) को तयारी तीब्र पारिएको छ । JSR अन्तर्गतको लैङ्गिक समता र सामाजिक समावेशीकरण – Gender Equity and Social Inclusion (GESI)  विषयगत कार्यसमूहले समुदाय स्तरदेखि नगरपालिका तथा प्रदेश सरकार सम्मको छलफललाई तीब्र पारिएको हो ।

कार्य समूहले यही असार १ गते धनगढीमा हुने सुदुरपश्चिम प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षाको लागि सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको उपस्थितिमा तयारी बैठक सम्पन्न गरेको छ ।

बैठकमा जेसी विषयगत कार्यसमूहको तर्फबाट प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षाको लागि हालसम्म भएका तयारी र योजनाको बारेमा जानकारी गराईएको थियो । सचिव भट्टले छलफलका लागि छनौट गरिएका अछाम र कञ्चनपुरका दुईवटा क्षेत्रबाट खानेपानी र सरसफाइमा लैंगिक समता र सामाजिक समावेशीकरणको वास्तविक अवस्था पत्ता लगाउन अपनाउनुपर्ने तरिकाहरुका बारेमा जानकारी गराउनुभयो ।

उहाँले कतिपय समुदायमा बर्षौदेखि एउटै व्यक्तिले सबै खाले तालिम लिईरहेको अवस्था रहेको दर्शाउदै त्यस्ता व्यक्तिबाट समाजको वास्तविक चित्र नआउने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । तयारी बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा.रजित ओझाले यस अघि सम्पन्न लुम्बिनी प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षाको अनुभव सेयर गर्नुभयो । उहाँले समुदायमा सोधिने बिषयवस्तु र नगरपालिकास्तरको अन्तरक्रियामा गर्नुपर्ने छलफलका बिषय र प्रादेशिक JSR मा गर्नुपर्ने तयारीका बिषयमा समेत सुझाउनु भयो ।


सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको संयुक्त क्षेत्रगत समीक्षा आयोजना गर्नु अघि लैङ्गिक समता र सामाजिक समावेशीकरण (GESI) विषयगत कार्यसमूहले अछामको तुर्मखाँद तथा कञ्चनपुरको बेलौरीमा खानेपानी र सरसफाइमा लैंगिक समता र सामाजिक समावेशीकरणको स्थितिबारे विभिन्न अध्ययन गर्नेछ ।

कार्य समूहको एक टोली अछामको तुर्मखाँद जानेछ भने अर्को टोलीले कञ्चनपुरको बेलौरीमा गएर महिला समूहहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, दलित समुदाय, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछाडि पारिएको समुदायसँग छलफल तथा कुराकानी गर्नेछ ।

त्यसपछि दुवै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । स्थानीय तहको प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकृत, स्वास्थ्य शाखा र शिक्षा शाखाका प्रमुख एवं वास फोकल पर्सन, महिला समूहहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, दलित समुदाय, अपाङ्गता भएका व्यक्ति सहितको अन्तरक्रियामा समुदाय स्तरमा गरिएको छलफलमा उब्जिएको प्रश्नहरु सोधिने र खानेपानी र सरसफाइमा लैंगिक समता र सामाजिक समावेशीकरणका लागि भएका राजनैतिक प्रतिबद्धता तथा कानुनी प्रावधान लगायत बिषयमा पनि छलफल हुने शहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारीले बताउनुभयो ।

उक्त छलफलमा अन्य ६ वटा बिषयहरु जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरण, सुरक्षित रूपमा व्यवस्थित सरसफाई सेवा र स्वच्छता, सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवा, खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन, संस्थागत व्यवस्था र क्षमता विकास, क्षेत्रगत योजना, अनुगमन र मूल्याङ्कन (परिणाम र प्रभाव मूल्याङ्कन), खानेपानी र सरसफाइ क्षेत्रको वित्तिय स्थितिको अवस्थाका बिषयमा समेत छलफल हुनेछ ।

अन्त्यमा अछाम र कञ्चनपुरमा प्राप्त नतिजालाई असार १ गते धनगढीमा हुने सुदुरपश्चिम प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षा (JSR ) मा प्रस्तुतीकरण गरिनेछ । JSR मा माथि उल्लेखित सात वटै बिषयमा गहन छलफल हुने वाटर एडको तर्फबाट परामर्शदाता डा. गंगादत्त नेपालले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार