नेपालले सरसफाइमा गरेको प्रगति विश्वमा दोस्रो, दक्षिण एसियामा पहिलो (जेएमपी रिपोर्ट सहित)

भानुआतुको प्रगति ३ प्रतिशत घट्यो

  वास खबर सम्वाददाता  833 पटक हेरिएको

काठमाडौ : सरसफाइमा उल्लेख्य प्रगति हासिल गर्ने विश्वका देशहरुमा नेपाल दोस्रो र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको छ । सन् २०१५ देखि २०२२ को बीचमा आधारभूत सरसफाइमा उल्लेख्य प्रगति हासिल गर्दै नेपालले विश्व मानचित्रमा आफ्नो नाम कोरेको हो ।

विश्वका २५ वटा देशहरुमा सरसफाइको प्रगति बढ्नुको साटो घटिरहेका बेला नेपालले भने ७ बर्षको अवधिमा २२ प्रतिशत बढाएर विश्वको दोस्रो देश बन्न सफल भएको हो । नेपाल भन्दा अगाडि अर्थात पहिलो स्थानमा कम्बोडिया रहेको छ ।

डब्लु एच ओ र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (JMP) ले हालै प्रकाशित गरेको घरेलु खानेपानी, सरसफाइ र स्वच्छता प्रतिवेदन अनुसार भारत नेपाल भन्दा एक अंक तल छ । भारतले यो अवधिमा सरसफाइ तर्फ २१ प्रतिशत कभरेज बढाएको छ । सन् २०१५ देखि २०२२ को बीचमा ४९ देशहरूले कम्तीमा ५ प्रतिशतले आधारभूत सरसफाइको प्रगति बढाएको जेएमपी रिपोर्टमा उल्लेख छ ।

नेपालले यही अवधिमा शत प्रतिशत आधारभूत सरसफाइ सुविधा पूरा गरी खुला दिसामुक्त राष्ट्र घोषणा गरेको थियो । २०७६ असोज १३ गते अर्थात सेप्टेम्बर ३० सन् २०१९ मा नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको थियो ।

यसैबीच सुरक्षित रुपमा व्यवस्थित सरसफाइ (सेफ्ली म्यानेज्ड स्यानिटेसन) को क्षेत्रमा नेपाल सहित विश्वका थुप्रै देशहरुमा कार्यरत बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन (BMGF) का डेपुटी डाइरेक्टर डा. रोशन राज श्रेष्ठले सरसफाइमा नेपालले गरेको प्रगति उल्लेखनीय रहेको भन्दै यसमा गर्व गर्न आग्रह गर्नुभएको छ । उहाँले नेपाल सरकारको सहभागिता बिना यो उपलब्धी हासिल गर्न सम्भव नभएकाले सरकारको प्रशंसा गर्न पनि आग्रह गर्नुभएको छ ।


आफ्नो फेसबुकमा स्टाटस लेख्दै उहाँ भन्नुहुन्छ ‘विश्वव्यापी जनसंख्याको ४३% (३.५ अर्ब जनसंख्या) मा सुरक्षित रूपमा व्यवस्थित सरसफाइको अभाव छ । जसको अर्थ शौचालय वा शौचालयमा पहुँच भयतापनि मलमूत्रको सुरक्षित विसर्जन हुन सकेको छैन । नेपालले विगत १२ वर्षमा सरसफाई क्षेत्रमा विश्वका अन्य देशको तुलनामा ठूलो प्रगति गरेको छ । नेपाल अहिले सरसफाइ क्षेत्रमा प्रगति गर्ने मुलुकमा विश्वको दोस्रो र दक्षिण एसियामा पहिलो राष्ट्र भएको छ।’

WHO/UNICEF को संयुक्त अनुगमन कार्यक्रम (JMP) ले दिगो विकास लक्ष्य (SDG) र खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सम्बन्धी सूचकहरूको विश्वव्यापी प्रगतिको अनुगमन गर्दछ । JMP ले घरपरिवार, विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा भएको प्रगतिको राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी आँकडाहरु प्रस्तुत गर्दछ ।

कम्बोडियाको प्रगति हरेक बर्ष ३ प्रतिशत

आधारभूत सरसफाइमा विश्वमा सबैभन्दा बढी प्रगति हासिल गरेको कम्बोडियाले सन् २०१५ यता बर्षमै ३ प्रतिशतको दरले कभरेज बढाउदै लगेको छ । जेएमपी प्रतिवेदन अनुसार सन् २०१५ मा ५४ प्रतिशतमा सीमित रहेको कम्बोडियाको सरसफाइको ग्राफ अहिले ७७ प्रतिशतमा पुगेको छ । विश्वका १६ वटा देशहरुले सरसफाइमा कम्तीमा १० प्रतिशत प्रगति हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।

भानुआतुको प्रगति ३ प्रतिशत घट्यो

सरसफाइको क्षेत्रमा प्रगति बढाउनुको सट्टा क्रमशः ओरालो गतिमा हिडिरहेका देशहरु समेत छन् । ओरालो यात्रामा रहेका देशहरु मध्ये भानुअतु अग्रस्थानमा छ । भानुआतुको सरसफाइको प्रगति घटेर ४७ प्रतिशतमा झरेको हो । सन् २०१५ मा भानुआतुको सरसफाइ कभरेज ५० प्रतिशत थियो । विश्वका २५ वटा देशहरुको प्रगति क्रमश: घट्दै गएको प्रतिवेदनले देखाएको छ ।

जेएमपीले औल्याए अनुसार विश्वका ८५ वटा देशहरुले सरसफाइमा हासिल गरेको उपलब्धी अति नै कम छ । ७७ वटा राष्ट्रहरुले सरसफाइमा गरिरहेको प्रगति सन्तोषजनक रहेको पाईएको छ ।

विस्तृतमा हेर्नुहोस् जेएमपीको पूर्ण रिपोर्ट :

jmp-2023-wash-households-launch


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार