३८ प्रतिशत स्वास्थ्य संस्थाको पानीमा कोलिफर्म

  वास खबर सम्वाददाता  578 पटक हेरिएको
🔗
44
Shares

पाल्पा : पाल्पाका ३८ प्रतिशत स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थाको पानीको नमुना परिक्षण गर्दा ३४ वटा स्वास्थ्य संस्थाको पानीमा कोलिफर्म भेटिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिका सहित आठ वटा गाउँपालिकाका विभिन्न ३४ वटा स्वास्थ्य संस्थामा पानीको परिक्षण गरेको थियो। परिक्षण गरिएको मध्ये सबैभन्दा बढी रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकाकाका स्वास्थ्य संस्थाहरुको पानी बढी दुषित रहेको पाईएको छ । त्यहाँ आठ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटा स्वास्थ्य संस्थाको पानीमा कोलिफर्म फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिनुभयो। कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने सुक्ष्म जीवाणु हो।

यस्तै माथागढीको १२ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटामा, बगनासकालीको आठ वटामा जाँच गर्दा छ वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ। रैनादेवी छहराको नौ वटामा जाँच गरिएकोमा तीन वटामा कोलिफर्म भेटिएको छ भने तिनाउका आठ वटाको जाँच गर्दा तीन, रम्भाको आठको स्वास्थ्य संस्थाको पानी परिक्षण गर्दा दुई, निस्दीको आठमा तीन, रामपुरको छ वटाको जाँच गरिएकोमा तीन र तानसेनको १२ वटा स्वास्थ्य संस्थाको जाँच गर्दा एक वटा संस्थाको पानीमा कोलिफर्म फेला परेको भट्टराईले बताउनुभयो।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा पिउने पानीमा कोलिफर्म र इकोलीको मात्रा शून्य हुनुपर्ने उल्लेख छ ।  पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न पानीको परिक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जाँच गरिएका मध्ये ३८ प्रतिशत पानी दूषित रहेको पाइएको कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो। दूषित भेटिएको पानीको गुणस्तर सुधार गर्न पालिकाको स्वास्थ्य शाखालाई आवश्यक सुझाव दिइएको उहाँले बताउनुभयो। जाँचपछि अधिकांश स्वास्थ्य संस्थाको पानीको गुणस्तर सुधार भएको उहाँले बताउनुभयो।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित हुनु गम्भीर विषय भएकाले पालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो। “स्वास्थ्य संस्थाकै पानी दूषित देखिनु गम्भीर विषय हो। अझ आमनागरिक, विद्यालयका बालबालिका तथा होटलमा प्रयोग हुने पिउने पानीको अवस्था कस्तो होला ?” उहाँले भन्नुभयो । सर्वसाधारण नागरिकले प्रयोग गर्ने पानीको गुणस्तरबारे स्थानीय तह र खानेपानी कार्यालयले आवश्यक काम तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्नुपर्नेमा प्रजिअ बास्तोलाले जोड दिनुभयो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख अनुप उपाध्यायले खानेपानीको शुद्धताका लागि उपभोक्तालाई सचेत बनाउने कार्य भइरहेको बताउनुभयो। पानी दूषित मानिसको व्यवहारका कारण पनि हुन सक्ने भएकाले दूषित भएको स्थानको पहिचान गरेर आवश्यक सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ।

स्वास्थ्य कार्यालयले पानीको धमिलोपना, इकोली, कोलिफर्म, क्लोरिन, पिएच लगायतको जाँच गरेको थियो। जिल्लाको स्वास्थ्य संस्थामा प्रयोग हुने पानीको गुणस्तर सुधार गर्न आगामी दिनमा पनि पानी परिक्षणको कामलाई निरन्तर दिईने कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार