झापा : झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गरिबीको रेखा मुनिका घरपरिवारलाई धारा जडानमा झण्डै आधा शुल्क छुट दिदै आएको छ । गरिबीको रेखा मुनिका घरपरिवारलाई अन्य घरपरिवार सरह खानेपानीमा पहुँच अभिवृद्धि गर्न यस्तो मापदण्ड जारी गरी लागु गरिएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार शुरुमा त्यस्ता विपन्न घर परिवारले धारा जडानका लागि छुट पाउँ भनी आवेदन दिन्छन् । त्यसपछि संस्थाको तर्फबाट गठित अनुगमन तथा निरिक्षण समितिले स्थलगत जाँच गर्दा गरिबीको रेखामुनि रहेको देखिन गएमा सञ्चालक समितिलाई छुटमा धारा जडान गर्न सिफरिस गरिन्छ ।
त्यस्ता विपन्न घरधुरीले धारा जडान बापत ६ हजार ५ सय रुपैयाँ तिरेपछि एउटा मिटर समेत उपब्ध हुने अध्यक्ष पराजुलीले बताउनुभयो । अन्य घरपरिवारको हकमा भने धारा जडान गर्दा कुल १० हजार ५ सय रुपैयाँ लाग्छ ।
‘मिटर बापत २ हजार, सदस्यता शुल्क ३ हजार, जडान शुल्क बापत २ हजार र दोस्रो साना शहरी खानेपानी आयोजना लागत सहभागिता बापत ३ हजार पाँच सय गरी १० हजार ५ सय तिर्नुपर्छ, तर विपन्न घरपरिवारले भने झण्डै आधा रकम छुट पाउनुहुन्छ’ अध्यक्ष पराजुलीले भन्नुभयो ।
अन्यको हकमा पनि आयोजना निर्माणका बखत लागत सहभागिता वापत अग्रिम भुक्तानी गरेमा ५ सय रुपैयाँ छुट पाउने व्यवस्था छ । अग्रिम भुक्तानीका लागि न्यूनतम ३ हजार भन्दा बढी रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको संस्थाले जनाएको छ ।
महिलाको नामको धारामा छुट
उपभोक्ता संस्थाले महिलाको नाममा जडान हुने धाराको हकमा १ हजार रुपैयाँ छुट दिने व्यवस्था गरेको छ ।
महिलाको नाममा जग्गा धनीपूर्जा भई महिलाकै नाममा धारा माग भई आएमा सदस्यता शुल्क बापत १ हजार रुपैयाँ सदस्य शुल्क छुट दिने गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मेचीनगर नगरपालिकाको विभिन्न वडामा ७ हजार भन्दा बढी धारा मार्फत चौबीसै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ ।