सुर्खेत : अघिल्लो पङ्तिमा लहरै चार जना महिला, पछिल्तिर चारै जना पुरुष । सेता टिसर्ट र कालो पाइन्टमा सजिएका महिला र पुरुष सन्देशमूलक गीतमा छमछमी नाच्न थालेपछि क्षणभरमै वरिपरिका मानिसहरु झुम्मिए ।
संगीत र नृत्यले एकैठाउँमा तानिएका स्थानीयले गीतको तालमा ताली बजाउन पनि भ्याए । स्थानीय समुदायलाई फोहोर व्यवस्थापन र सुरक्षित सरसफाइको बारेमा चेतना जगाउन रचनात्मक र गतिशील प्रयासमा उत्साही स्वयं सेवकहरूको समूह “Sis and Beo” फ्ल्यास मोब गर्दै थिए ।
फ्ल्यास मोब सार्वजनिक क्षेत्रमा सबैको ध्यान आकर्षित गर्न र सबैमा जनचेतना फैलाउन गरिने एउटा कार्यक्रम हो ।
फोहोरको बर्गिकरण र उचित फोहोर व्यवस्थापन अभ्यास मार्फत ग्रीन भेरीगंगा, क्लीन भेरीगंगा’ भन्ने नारालाई सार्थक तुल्याउन सुर्खेतको भेरीगंगा नगरपालिका तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
भेरीगंगा नगरपालिकाको छिन्चु, जहरे, रामघात र झिङ्नी बजारहरुमा फोहोर व्यवस्थापन र सुरक्षित सरसफाइको बारेमा चेतना जगाउन कार्यक्रम सम्पन्न भैसकेको छ ।
कलाकारहरूले आकर्षक गीतमा नृत्यका साथ कुशलतापूर्वक फोहोर व्यवस्थापन र सरसफाइ सम्बन्धी सचेतना जगाउने र ठोस फोहोरको व्यवस्थापन र वर्गीकरण गर्ने अभ्यासलाई घरपरिवार स्तरमा प्रवर्द्वन गर्ने लक्ष्य राखिएको छ ।
आगामी दिनमा अन्य ठाउँहरुमा पनि यस्तै कार्यक्रमको आयोजना गरिने एन्फोका परियोजना संयोजक अनिल महर्जनले जानकारी दिनुभयो ।
फोहोरको अन्धाधुन्ध विसर्जनले वातावरणीय र स्वास्थ्यमा ठूलो खतरा निम्त्याईरहेको छ । फ्ल्यास मोबले फोहोर व्यवस्थापन साझा जिम्मेवारी हो र यो घर परिवारबाटै सुरु गर्नुपर्छ भन्ने सन्देश प्रबर्द्वन गर्ने प्रयास गरेको परियोजना संयोजक महर्जनले बताउनुभयो ।
कार्यक्रमले समुदाय, बिद्यालयका बालबालिका तथा शिक्षक शिक्षिकाहरुलाई आकर्षित गरेको र फोहोर व्यवस्थापनको सन्देश सफलतापूर्वक प्रदान गर्न सफल भएको उहाँले बताउनुभयो ।
‘यो फ्ल्यास मोबको सहायताले सुरक्षित सरसफाइ अभ्यासहरूको महत्वलाई पनि जोड दिएको छ’ परियोजना संयोजक महर्जनले भन्नुभयो ‘जीवन्त र दृश्यात्मक रूपमा आकर्षक प्रदर्शनले धेरैको ध्यान खिच्यो, प्रभावकारी रूपमा फोहोर व्यवस्थापन र सुरक्षित सरसफाइ अभ्यासहरूको सन्देश फैलाउन सफल भयौं ।’
यस्तै कार्यक्रम भेरीगंगा नगरपालिकाको अन्य बिद्यालयहरुमा समेत आयोजना गरिने एन्फोले जनाएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले फोहोर व्यवस्थापन र वातावरणीय सरसफाइतर्फ अग्रगामी कदम चाल्दै स्थानीय बजारलाई सफा र नमुना स्थानमा परिणत गर्न विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।
सुरक्षित, स्वस्थ समुदाय र सुन्दर भेरीगंगा बनाउने उद्देश्यका साथ नगरपालिकाले २०८० साललाई सरसफाइ अभियान बर्ष घोषणा गरिसकेको छ । यसलाई सफल बनाउन भेरीगंगा नगरपालिका र वातावरण र जनस्वास्थ्य सस्था (एन्फो) ले फोहोर वर्गीकरण तथा यसको व्यवस्थापनबारे बजार क्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।