आफ्नो फोहोर आफ्नै डस्टविन अभियान सञ्चालन

नेपालगन्ज : पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र र प्रमुख सहर नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन गरिएको छ ।

उपमहानगरपालिकाले मात्र एक्लै नगरलाई सफा र स्वच्छ राख्न नसक्ने जनाउँदै त्यसका लागि हरेक नागरिकको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले सरसफाइमा विशेष काम गर्न ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन गरिएको जनाइएको छ ।

नेपालगन्जलाई सफा र स्वच्छ राख्न उपमहानगरपालिकालाई सहयोग गर्ने उद्देश्यले बाँके होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घले सो अभियान सञ्चालन गरेको हो । बाँके होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपालप्रसाद गिरिले उपमहानगरले एक्लै नगरको सरसफाइ गर्न नसक्ने तथा सो कार्यमा हरेक नागरिकको पनि सहयोग र समर्थन आवश्यक परेको देखेर सङ्घले ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाँले सो अभियान अन्तर्गत अहिले सङ्घ नगरको टोली टोल–टोलमा पुगेर पसलमा तथा कलकारखाना र घरहरूमा समेत डस्टविन वितरण गर्दै आफ्नो सबै फोहर डस्टविनमै राख्न आग्रह गरेको बताउनुभयो ।

अध्यक्ष गिरीले नगरका सबै पसल, होटल, सङ्घ संस्था, कलकारखाना र घरमा डस्टविन वितरण गर्ने काम चलिरहेको र सोसँगै फोहोर बारेमा चेतना फैलाउने काम पनि भइरहेकाले सर्वसाधारणमा चेतना बढ्दैगएको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभाबी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले त्यस्तो गर्नेलाई कारबाही गरिने जनाएको खबर गोरखापत्रले प्रकाशन गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सरसफाइ शाखाका प्रमुख प्रकाश डिसिले नगरलाई फोहोरमुक्त र सफा सहर बनाउने काममा उपमहानगरभित्रका सबै जनाको सहयोग अपरिहार्य भएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार