
झापा : झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी वितरण गर्नु अघि अनिवार्य परिक्षण गरेर मात्र पठाउने गरेको छ । संस्थाले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले व्यवस्था गरे बमोजिम दैनिक परिक्षण गर्नुपर्ने पारामितिहरु दैनिक रुपमै परिक्षण गरी मापदण्ड अनुरुप भएको सुनिश्चितता गराएर मात्र वितरण गर्ने गरिएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो ।
संस्थाले दैनिक परिक्षण गर्नुपर्ने पारामितिहरुका लागि संस्थाका ४ वटा सिस्टमको खानेपानीको दैनिक फरक फरक स्थानबाट नमुना संकलन गरी परिक्षण गर्ने गरिएको छ । ‘परिक्षणका रिपोर्टहरु उपभोक्ताहरुको जानकारीको लागि सूचना पाटीमा टाँस गर्ने गरिएको छ’ अध्यक्ष पराजुलीले भन्नुभयो ।
बार्षिक तथा त्रैमासिक रुपमा परिक्षण गर्नुपर्ने पारामितिहरुका लागि भने नेपाल सरकारको क्षेत्रीय पानी परिक्षण प्रयोगशाला इटहरीबाट गर्ने गरिएको पानी सुरक्षा टोलीका संयोजक दिलिपजङ सुब्बाले जानकारी दिनुभयो । बार्षिक तथा त्रैमासिक परिक्षण गर्नुपर्ने पारामितिहरु समेत मापदण्ड अनुरुप नै भएको पाएको उहाँले बताउनुभयो ।
सरकारले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले गरेको व्यवस्था बमोजिम भौतिक, रासायनिक र जैविक गरी जम्मा २७ वटा पारामितिहरु परिक्षण गर्नुपर्ने जनाएको छ । ती मध्ये विशेष परिस्थितिमा परिक्षण गर्नुपर्ने, अर्धबार्षिक तथा त्रैमासिक वा मासिक तथा दैनिक परिक्षण गर्नुपर्ने पारामितिहरु निर्धारण गरेको छ ।
संस्थाले जत्तिसुकै गुणस्तरीय पानी वितरण गरेपनि उपभोक्ता सचेत नभएसम्म पानीजन्य रोगहरुमा कमी ल्याउन नसकिने भएकाले उपभोक्ता नै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
उपभोक्तालाई सचेत तुल्याउनका लागि पानी प्रयोग गर्ने भाँडाकुँडाहरु सफा र सुरक्षित राखौं, खानेपानी थापेर राख्दा छोपेर मात्र राखौं, आफ्नो घर वरपर फोहोरपानीका खाल्डाखुल्डी भए पुरौं, खानेपानीको पाइप फुटेको वा सानो तिना चुहावट भएको पाईएमा तुरुन्त संस्थामा जानकारी गराऔं जस्ता सूचनाहरु जारी गर्दै आएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मेचीनगर नगरपालिकाको विभिन्न वडामा ७ हजार भन्दा बढी धारा मार्फत चौबीसै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ ।


1082 पटक हेरिएको 

