पाटन दरबार क्षेत्रमा युनेस्को मापदण्ड अनुसार ढल निर्माण

एडिबीका कार्यकारी निर्देशक नेतृत्वको टोलीद्वारा अवलोकन

  वास खबर सम्वाददाता  787 पटक हेरिएको

काठमाडौ : विश्व सम्पदा ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्य सँगसँगै विद्युतका केबल र टेलिफोनका तार भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

ऐतिहासिक सम्पदा क्षेत्रमा ढल प्रणाली व्यवस्थापनका लागि नेपाल सरकारको लगानी (एसियाली विकास बैंक (ADB) को ऋण सहयोग) र ललितपुर महानगरपालिकाको लगानीबाट पाटन दरबार क्षेत्र तथा आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणालीको निर्माण कार्य हुँदै आएको छ ।

ढल प्रणाली निर्माण भएपछि यस वर्षको वर्षायाममा ठूलो पानी पर्दा समेत पाटन दरबार स्क्वायर क्षेत्रका सडक जलमग्न नभएको र ढल तथा मङ्गालमा जाम हुने समस्या समेत समाधान भएको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना उपनिर्देशक एवम् प्रवक्ता चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी गराउनुभयो ।

ढल निर्माणको काम काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजना (KVWMP) ले गरेको हो ।

पाटन दरबार स्क्वायर क्षेत्रमा निर्माण गरिएको ढल प्रणालीका बारेमा जानकारी लिन नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक (ADB) का कार्यकारी निर्देशक च्यान्टेल वाङ नेतृत्वको टोलीले यही असोज २० गते पाटन दरबार क्षेत्रको स्थलगत अवलोकन समेत गरेको छ ।


त्यस अवसरमा आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना निर्देशक राजेन्द्र सापकोटाले पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माणको कार्य सँगसँगै विद्युत तथा टेलिफोनका लाइन भूमिगत गर्ने कार्य समेत सम्बन्धित निकायहरूबाट हुँदै आएको जानकारी गराउनुभयो ।

पाटन दरबार क्षेत्रमा नमूनाका रूपमा गरिएको ढल व्यवस्थापन कार्यबाट सम्पदा क्षेत्रमा कार्य गर्ने राम्रो अनुभव हासिल भएको आयोजना निर्देशक सापकोटाले बताउनुभयो । ‘काठमाडौं र भक्तपुरका विभिन्न स्थानीय तहहरूबाट पनि सम्पदा क्षेत्रहरूमा ढल प्रणाली निर्माणको माग आएको छ’ उहाँले एसियाली विकास बैंकका कार्यकारी निर्देशक च्यान्टेल वाङ सामु जानकारी गराउनुभयो ।


स्थलगत अवलोकनमा ADB को संचालक समितिका कार्यकारी निर्देशक तथा बैकल्पिक कार्यकारी निर्देशकहरू, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिव, एक्ष्म् का आयोजना निर्देशक, आयोजना उपनिर्देशक र आयोजना प्रवन्धक तथा स्थानीय वासिन्दाहरूको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार