वालिङ नगरपालिकालाई पाँच हजार डलरको ‘स्यानिटेशन एक्सिलेन्स अवार्ड’

  वास खबर सम्वाददाता  600 पटक हेरिएको

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकालाई पाँच हजार डलरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ ले सम्मान गरिने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह (युसिएलजी–एसियाप्यासिफिक) बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुन लागेको हो । पुरस्कार १३–१५ नोभेम्बर २०२३ मा चीनको यीवु सहरमा वितरण हुनेछ ।

नगरप्रमुख कृष्ण खाँणले एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरु मध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भएको बताउनुभयो । उहाँलाई युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले अक्टोबर ६ मा पत्र मार्फत वालिङ नगरपालिकाले अवार्ड जितेको जानकारी गराउनु भएको हो ।

नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो ।

नगर बासीहरूको सहयोग,कर्मचारीहरूको तदारुकता र जनप्रतिनिधिहरूको समर्पणले वालिङ सम्पत्ति बनेको बताउदै खाँणले अभियानलाई अझै उचाइमा लैजान फोहोरलाई पूर्ण रूपमा आम्दानीको स्रोतको रूपमा परिणत गर्न आवश्यक सबै कदमहरू अगाडि बढाउने बताउनुभयो । सरसफाइको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरूको सही पालना तथा कार्यान्वयनको लागि नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख खाँणको भनाई छ ।

वालिङ नगरपालिकाले नगरपालिका भित्र उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गर्न लगाई त्यसको समुचित व्यवस्थापन गर्दै आएको छ । ठोस फोहोरमैला मात्र नभई दिसाजन्य लेदोको समेत सरसफाइ स्रोत केन्द्र भित्र निर्माण गरिएको दिसाजन्य लेदो व्यवस्थापन केन्द्रमा प्रशोधन गरी व्यवस्थापन गर्दै आएको छ ।

नगरपालिकाले दिसाजन्य लेदोलाई प्रशोधन गरी गड्यौला मलमा परिणत गरेको छ । यस्तै प्लाष्टिकजन्य फोहोरबाट प्लाष्टिकका भाँडाकुँडा तथा अलकत्रा निर्माणको योजना अगाडि बढाएको नगरपालिकाले जनाएको छ । अन्य विक्री हुने फोहोरमैलालाई भने नगरपालिकाका सफाइ कर्मचारीले वर्गीकरण गरी फोहोरको प्रकृति अनुसार फरक फरक मूल्यमा विक्री गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार