आर्ट ग्यालरी भत्काएर १ करोडमा बनाएको शौचालयको भव्य उदघाटन

  वास खबर सम्वाददाता  585 पटक हेरिएको


पोखरा : पोखरा महानगरपालिकाले पोखराको महेन्द्रपुलको आर्ट ग्यालरी भत्काएर बनाएको सार्वजनिक शौचालयको उदघाटन गरिएको छ । महानगरले आर्ट ग्यालरीमा ०७९ भदौ २३ गते डोजर चलाएर शौचालय निर्माणको काम थालनी गरेको थियो ।

सार्वजनिक शौचालयको चाबी गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष रविना थापाले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तान्तरण गर्दै शौचालयको उदघाटन गरिएको हो ।

१ करोड लागतमा बनेको शौचालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६० प्रतिशत र महानगरको ४० प्रतिशत लगानी रहेको छ ।

शौचालयको उदघाटन कार्यक्रममा मेयर आचार्यले सहरभित्र आवश्यक पूर्वाधार बनाउन संयुक्त प्रयासको उदाहरण सहित सार्वजनिक शौचालय बनाइएको बताउनुभयो । ‘पूर्वाधार निर्माणका लागि मूल्य भन्दा पनि साझेदारी महत्वपूर्ण हो । यो हाम्रो सहर बनाउनका लागि हामी कसरी संयुक्त रूपमा काम गरिरहेका छौँ भन्ने सन्देश पनि हो । मेयर आचार्यले भन्नुभयो ।

व्यस्त बजार नजिकै बनेको सुविधा सम्पन्न आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई राहत पुग्ने मेयर आचार्यको दाबी छ । शौचालयमा महिलाहरूका लागि सेनेटरी प्याड भेण्डिङ मेसिन, स्तनपान कक्ष, सेन्सर सहितका हात धुने बेसिन तथा धारा जडान गरिएको छ ।

दैनिक १८ घन्टासम्म खुला हुने दाबी गरिएको शौचालयबाट बायोग्यास निकाल्ने महानगरको योजना छ । तर, बायो डाइजेस्टर भने जडान गरिएको छैन । शौचालय अगाडि वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा पनि निर्माण गर्ने महानगरपालिकाको योजना रहेको मेयर आचार्यले सुनाउनुभयो ।

महानगरले महेन्द्रपुलको आर्टग्यालरी भत्काएर ५ रोपनी क्षेत्रफलमा सार्वजनिक शौचालय बनाएको हो । त्यसको अघिल्तिर रहेको पुस्तकालय भत्काएर लायन्स क्लबको लगानीमा झन्डा पार्क बनिरहेको छ । संयुक्त राष्ट्रसंघमा आवद्ध १ सय ९५ देश सहित पोखरा महानगर, लायन्स क्लब र एनआरएनए गरी १ सय ९८ वटा झन्डा फहराउने महानगरको योजना छ ।

महानगरले पृथ्वीचोकमा भवन बनाई सुविधा सम्पन्न ग्यालरी र पुस्तकालय बनाउने बताए पनि आर्ट ग्यालरी र पुस्तकालय भत्काएको १ वर्ष बितिसक्दा समेत भवन निर्माण गर्न कुनै तदारुकता देखाएको छैन ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार