खडक नपा.मा वास प्लान बनाउन उपप्रमुखको संयोकत्वमा कार्यदल

  परमेश्वर झा  1349 पटक हेरिएको

सप्तरी : सप्तरीको खडक नगरपालिकाले वास प्लान निर्माणको लागि नगर उपप्रमुख रिता चौधरीको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनाएको छ । एन,वास राष्ट्रिय सूचना प्रणालीमा आधारित वास प्लान बनाउने कार्यको लागि नगरपालिकाले कार्यदल गठन गरी परिचालन गरेको हो ।

गत बुधवार खडक नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्य, नगर स्तरीय खानेपानी सरसफाइ समन्वय समितिका पदाधिकारी लगायत अन्य सरोकारवालाहरुको वैठक बसी वास प्लान निर्माण गर्न निर्णय गरिएको हो ।

वास प्लान निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग एसएनभि नेपाल तथा सबल नेपालले गर्नेछ । यसका लागि सामाजिक सर्वेक्षणका लागि स्थानीय १० जना सर्वेक्षकहरु छनोट गरी उनीहरुलाई एनवास राष्ट्रिय सूचना प्रणालीको सफट्वेयर मार्फत तथ्याँक संकलन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।

खानेपानीतथा ढल व्यवस्थापन विभागका विभागका कनसल्टेन्ट एवं विज्ञ फत्तबहादुर क्षेत्री, एस एन भि नेपालका कृष्ण जिसि तथा मदनबहादुर भण्डारीद्धारा प्रशिक्षण दिईएको उक्त तालिम पश्चात सर्वेक्षकहरु घरधुरी सर्वेक्षण्का लागि खटि सकेका छन् ।

यसैगरी यस पालिकाभित्र रहेका साना खानेपानी योजनाहरुको ईन्भेन्ट्री तथ्याँक संकलनकर्ता समेत परिचालन भई सकेको छ । कुल ११ हजार ७९ घरधुरी रहेको यस नगरपालिकाले मंसिर भित्र वास प्लान तयार गर्ने लक्ष्य राखेको छ ।

एसएनभि नेपालले सन् २०१८ देखि स्थानीय साझेदार संस्था सबल नेपालको माध्यमबाट यस पालिकामा स्वास्थ्य विकासका लागि शहरी सरसफाइ तथा स्व्च्छता कार्यक्रम संचालनमा ल्याएको छ ।

यस क्रममा परियोजनाको माध्यम र सहयोगमा खडक नगरपालिकाले शहरी सरसफाइ योजना, फोहरमैला व्यवस्थापनमा केन्द्रित शहरी सरसफाइ र स्वच्छताको लागि बानीव्यवहार परिवर्तन संचार रणनिति, मानव मलमुत्रजन्य ठोस फोहर व्यवस्थापन ऐन २०७९, दिसाजन्य लेदो व्यवस्थापनमा पेसागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी संचालन कार्यविधि २०७७, विद्यालय तथा स्वास्थ्य संस्थामा खानेपानी सरसफाइ तथा स्वच्छता (वास) को लागि कार्य संचालन विधि लगायतका विभिन्न नीति, रणनीति, ऐन आदि अनुमोदन भई कार्यान्वयनमा आई सकेको छ ।

यसै गरी नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्र्ेन्च निर्माण गरी संचालनमा ल्याएको छ भने फोहर व्यवस्थापनका लागि डम्पींग साईट समेत निर्माण भएर फोहर व्यवस्थापन भई रहेको छ ।

यसै गरी बानीव्यवहारमा परिवर्तन भई यस नगरपालिकाका विभिन्न ५ वटा वस्तीहरु पूर्ण सरसफाइ उन्मुख नमुना वस्ती समेत घोषणा गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार