कालो पानी बग्ने सिर्सियामा फोहोरपानी बिसर्जन नगर्ने उद्योगीहरुको प्रतिबद्धता

बीरगन्ज : बारा र पर्साका उद्योगीहरुले सिर्सिया नदीलाई सफा राख्न नदीमा प्रदूषण र फोहोरपानी बिसर्जन नगर्ने प्रतिबद्धता गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको अग्रसरतामा पर्सा–बाराका उद्योग सन्चालकहरुसँग गरिएको बैठकमा नदीमा फोहोरपानी सीधै विसर्जन नगर्ने र दिपावलीदेखि छठ पर्वसम्म सफा पानी प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा पर्सा बारा औद्योगिक करिडोरस्थित मरियम लेदर इण्डस्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डस्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डस्ट्रिज लगायत उद्योग प्रतिष्ठानका सन्चालकहरुको उपस्थिति थियो ।

छठ पर्व लगत्तै सरोकारवाला उद्योगहरुको उपस्थितिमा पुनः बृहत बैठकको आयोजना गरी नदीलाई प्रदूषणमुक्त बनाउन ठोस कार्य योजना सहित बनाउने, नदीलाई सफा र स्वच्छ बनाउने दिशामा वीरगन्ज उद्योग वाणिज्य संघले संस्थागत पहल गर्ने संघका अध्यक्ष अनिल अग्रवालले बताउनुभयो ।

लामो समय देखि सिर्सिया नदीको प्रदुषणको सम्बन्धमा स्थानीय स्तरबाट चर्को बिरोध हुदै आएको छ । छठ पर्वको समयमा बारा देखि पर्सा सम्म यो नदीमा २ दर्जन बढी स्थानमा छठ घाटमा पुजा अर्चना हुने गरेको छ ।

३ वर्ष अघि लकडाउनको अवधिमा कात्तिकी छठ पर्वको समयमा सिर्सिया नदी प्रदुषणका लागि जिम्मेवार एक छाला उद्योगका व्यवस्थापक तथा प्रबन्धक गरी २ जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रकृया समेत चलाइएको थियो । पर्सा बारा औद्योगिक करिडोरस्थित हिमालयन लेदर उद्योगका व्यवस्थापक चिनियाँ नागरिक लिउता छुवाङ र म्यानेजर भारत घर भई हाल मकवानपुर बस्ने तिनजुङ गुरुङ पक्राउ समेत परेका थिए । सार्वजनिक अपराध मुद्दा चलाइएका उनीहरु त्यसपछि सामान्य धरौटी राखी मुक्त भएका थिए ।

गत वर्ष देखि वीरगन्ज महानगरपालिकाको कार्यालयले पनि पटक पटक अनुगमन गरी नदी प्रदुषित गर्ने उद्योगहरुको पहिचान गरी ती उद्योग व्यवस्थापनलाई अविलम्ब खोलामा उद्योगबाट निस्कने अवशेष नफाल्न समेत सचेत गरिसकेको छ । महानगरका मेयर राजेशमान सिंह तथा उपमेयर इम्तियाज आलम आफैंले पनि पटक पटक स्थलगत अनुगमन गरिसक्नुभएको छ । तर खोला प्रदुषणमा जिम्मेवार उद्योगहरु सरोकारवाला निकायहरुको समेत अवज्ञा गरी खुलेआम नदीलाई प्रदुषित गर्ने काम गरी रहेका छन् ।

चार दशक यता अत्यधिक प्रदुषित बनेको सिर्सिया नदीमा अहिले कालो पानी बग्छ । नदीको पानी मानवीय तथा चौपायाको उपयोगमा आउने लायक पनि छैन । नदीको पानीबाट सिंचाई पनि गर्न सकिँदैन । नदीमा धार्मिक परम्परा अनुसार पुजाआजा गर्न र सर्वसाधारणको मृत्युमा दाह संस्कार गर्न समेत अप्ठेरो भएको छ । बाराको सिमरास्थित रामवनबाट निस्केको यो नदी करीब ३ किमी पछि प्रदुषित बन्न थाल्छ । वीरगन्ज पुग्दा नदीको पानी पूर्ण रुपले कालो भई सक्छ ।

डेढ दशक अघि सिर्सिया नदीको प्रदुषणको श्रोत पत्ता लगाउन गठित सिर्सिया नदी अनुगमन समितिले आफ्नो प्रतिवेदन तत्कालिन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाउदै सिर्सिया नदीलाई प्रदुषित बनाउने ४८ स्रोत किटान गरेको थियो । ती स्रोत मध्ये पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, बाकी दुईमा वीरगंज महानगरपालिकाको कार्यालयले नदीमा फाल्ने गरेको फोहर र वीरगंज नगर क्षेत्रमा संचालित अवैध मदिरा भठ्ठीलाई किटान गरिएको थियो ।

प्रतिवेदनले नदी प्रदुषित बनाउने मुख्य उद्योगहरुमा छाला उद्योग, कपडा उद्योग, फलाम उद्योग, साबुन उद्योग, घिउ उद्योग, मदिरा उद्योग आदि रहेको दाबी गरेको थियो । हाल सम्म ती मध्ये केही उद्योगले मात्र आफ्नो वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर प्रयोग गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार