
सुर्खेत : जाजरकोटमा शुक्रबार मध्यरातमा गएको भूकम्पले क्षतिग्रस्त जाजरकोट खलंगा सहलगानी खानेपानी आयोजना ४८ घण्टा भित्रै सुचारु भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको प्राविधिक टोली, खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयका प्राविधिक र खानेपानी उपभोक्ता समिति सहितको सक्रियतामा आपतकालीन अवस्थामा तत्काल मर्मत गरी सञ्चालनमा ल्याईएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख देवेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्पले ट्रान्समिसन पाइपलाइन विभिन्न खण्डमा टुटफुट हुँदा खानेपानी सेवा बन्द भएको थियो । भूकम्पले हल्लाएर विच्छेद भएको एचडिईपी पाइप जोडजाम गरी तत्काल खानेपानी सञ्चालनमा ल्याएको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।

जाजरकोट खलंगा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाबाट भेरी नगरपालिकाको वडा नं. ३ र ४ का ९ सय ६५ घरधुरीका ८ हजार ८ सयले खानेपानी उपभोग गर्दै आएका छन् । जाजरकोटको सदरमुकाम खलंगा भेरी नगरपालिकामै पर्दछ ।
भूकम्प प्रभावित क्षेत्रको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था तथा तत्काल गर्नुपर्ने कार्यको बारेमा कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्मा सहितको टोलीले अनुगमन गरेर फर्किसकेको छ ।



786 पटक हेरिएको 

