फोहोर व्यवस्थापनको लागि ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी

  वास खबर सम्वाददाता  486 पटक हेरिएको

नेपालगन्ज : होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान फोहोर व्यवस्थापनको लागि प्रभावकारी देखिएको छ । सरसफाइमा हरेक नागरिकलाई सहभागी गराई नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्ने उद्देश्यले केही समय अघि देखि सञ्चालन गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी साबित हुँदै गएको बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले जनाएको छ ।

बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपालप्रसाद गिरिले उपमहानगरले एक्लै नगरको सरसफाइ गर्न नसक्ने तथा सो कार्यमा हरेक नागरिकको पनि सहयोग र समर्थन आवश्यक परेको देखेर सुरु गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानले उपमहानगरको सरसफाइमा सुधार आएको बताउनुभयो ।

उहाँले सो अभियान अन्तर्गत नगरको टोल टोलमा पुगेर, पसलमा तथा कलकारखाना र घरहरूमा समेत डस्टविन वितरण गर्दै फोहर डस्टविनमै राखिदिन आग्रह गरिएकोमा अधिकांशले परिपालना गरेको बताउनुभयो ।

अध्यक्ष गिरिले नगरका अधिकांश पसल, होटल, सङ्घ संस्था, कलकारखाना र घरहरूमा डस्टविन वितरण गरेपछि फोहोर डस्टविनमा राख्ने चेतना बढ्दै गएको बताउनुभयो ।

यसअघि नेपालगन्ज उपमहानगरले पनि फोहोर व्यवस्थापनमा कडाइ गर्दै फोहोर जथाभाबी फाल्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । अधिकांश नगरवासीले आफ्नो फोहोरलाई जथाभाबी फाल्ने गरेकै कारण फोहोर व्यवस्थापनमा समस्या आउने गरेको र नगरलाई सफा र स्वच्छ राख्न समस्या हुने गरेको उपमहानगरपालिकाले जनाएको थियो ।

नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभाबी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले समस्या यथावत रहने गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको सरसफाइ शाखाका प्रमुख प्रकाश डिसिले नगरलाई फोहोरमुक्त र सफा सहर बनाउने काममा ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानले सहयोग गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार