संसद भवनको पुरुष शौचालयको भित्ता पनि गन्हाउँछ : उपसभामुख राना

  वास खबर सम्वाददाता  760 पटक हेरिएको

काठमाडौ : संघीय ससंदका उपसभामुख इन्दिरा रानाले संघीय संसद भवनको पुरुष शौचालयको भित्ता समेत दुर्गन्धित रहेको बताउनुभएको छ । संसद भवनको शौचालयहरुको अवस्था बुझ्न रातीको समयमा अनुगमन गर्दा पुरुषको शौचालय दुर्गन्धित भएको र महिलाको शौचालयमा स्यानिटरी प्याडको सही व्यवस्थापन नभएको पाईएको उपसभामुख रानाले बताउनुभयो ।

विश्व शौचालय दिवसको पूर्व सन्ध्यामा वाटर एड नेपाल र एस.एन.भी.नेपालको आर्थिक सहयोगमा स्मार्ट वास सोलुसन्सले आयोजना गरेको ‘सार्वजनिक शौचालयको व्यवस्थापन’ विषयक गोष्ठीमा उपसभामुख रानाले महिला सांसदहरुलाई यसबारेमा सचेत गराएको समेत बताउनुभयो ।

‘मर्यादापालकहरु साक्षी हुनुहुन्छ, हतार छ भन्दैमा प्याड समेत बकेटमा नहाली बाहिरै छर्न त मिलेन नि, बाहिर छरिएका स्यानिटरी प्याडहरु सफाइ कर्मचारीहरुले हातैले टिप्नु पर्ने अवस्था रहेछ, यस्तो अवस्थाको अन्त्यका लागि मैले सांसदहरुसँग छलफल पनि चलाएको छु’ उहाँले भन्नुभयो ।

सिंहदरबार भित्रको आफ्नो सचिवालयको शौचालय सफा गर्न सफाइ कर्मचारीलाई पर्खेर बस्ने चलन नरहेको र शौचालयको सफाइ आफैले गर्दै आएको उहाँले बताउनुभयो । ‘कुरा संस्कारको हो, हामीले आफूले प्रयोग गर्ने शौचालय आफैले सफा गर्ने संस्कार बसाल्यौं भने शौचालयहरु फोहोर हुँदैनन्’ उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा उहाँले कोभिड महामारीका बेला हनुमान ढोका दरबार स्क्वायर क्षेत्रमा बाहिरी मानिसहरुले गरेको दिसा खुर्केर सरसफाइ गरेको समेत स्मरण गर्नुभयो । ‘कोभिड – १९ का बेला हामीले खाना खुवायौं, मानिसहरुले सार्वजनिक शौचालय अभावमा बाहिरै दिसापिसाब गरेछन्, तपाईले खाना खुवाएर बाहिरै दिसापिसाब गरे भन्ने गुनासो आएपछि मैले मन्दिर आसपासको दिसापिसाब साबेलले खुर्केर सरसफाइ गरें, पानीले पखालें’ उहाँले भन्नुभयो ।

काठमाडौ उपत्यकाको तीन वटै दरबार स्क्वायर क्षेत्रमा सार्वजनिक शौचालय नरहेको र मानव आवागमन हुने ठाउँमा शौचालय हुनुपर्ने र त्यसलाई ढलमा जडान गर्नुपर्ने बहस चलाउँदै आएको बताउनुभयो ।

विश्व शौचालय दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । संयुक्त राष्ट्र संघको आव्हानमा सन २०१३ देखि हरेक बर्षको नोभेम्बर १९ लाई विश्व शौचालय दिवसको रुपमा विश्वभरि मनाउँदै आएको छ । यस बर्षको नारा परिवर्तनको गति बढाउँदै (Accelerating Change) भन्ने रहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार