वास च्याम्पियनबाट जनप्रतिनिधि

सरसफाइ तथा स्वच्छता प्रबर्द्वनको काम पनि सँगसँगै

  विनोद धौलागिरि  1627 पटक हेरिएको

मरिण (सिन्धुली) : डेढ वर्ष अघिसम्म सिन्धुली गाउँपालिका, वडा नं. ७ निवासी शर्मिला माझीको फरक पहिचान थियो । उहाँ समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तनका लागि सहजीकरण गर्ने वास च्याम्पियन हुनुहुन्थ्यो । तुलनात्मक रुपमा विकासमा पछि परेको माझी समुदायको मात्र नभै अन्य सबै समुदायमा सरसफाइ तथा स्वच्छता प्रबर्द्वनमा उहाँ दत्तचित्त भएर लाग्नुभयो ।

“मेरो वडा र छिमेकी टोलहरुका प्रत्येक घरधुरीमा पुग्ने मौका मिल्यो, जुन घरमा म वास च्याम्पियन नभएको भए सायद कहिल्यै पनि पुग्ने थिइन होला”, शर्मिला सम्झनुहुन्छ, “वास च्याम्पियनको रुपमा प्रत्येक घर बस्तीमा पुग्दा घरधुरीसँग घुलमिल हुने मौका मिल्यो, दुःख सुखका कुरा भए, सरसफाइ तथा स्वच्छताको महत्वबारे बुझाउने मौका मिल्यो ।”


यसैको नतिजा स्वरुप शर्मिलाले गत स्थानीय निर्वाचनमा वडा सदस्यको टिकट पाउनुभयो, सहज मतका साथ विजयी हुनुभयो र कार्यपालिका सदस्यमा समेत चयन हुनुभयो । “म कार्यपालिका सदस्यको रुपमा निर्वाचित भैसकेपछि पनि सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तन क्लासलाई निरन्तरता दिएँ”, उहाँ भन्नुहुन्छ, “कार्यपालिका सदस्यको रुपमा कानुन निर्माण गर्ने र नीतिगत निर्णय गर्ने कामका साथ साथै, साँझ विहानको समयमा सरसफाइ तथा स्वच्छता प्रबर्द्वनमा निरन्तर क्रियाशील रहेँ ।”

कुराकानी बिट मार्दै गर्दा उहाँले सुनाउनुभयो, “जिन्दगीको सबैभन्दा ठूलो कमाइ यही रहेछ, जसले मलाई कानुन निर्माण गर्ने कार्यपालिकामा पुग्न सिंढीको काम गर्‍यो ।”

उहाँ वास च्याम्पियन बनेपछि विभिन्न तालिममा सहभागिता जनाउनुभयो, कार्यशाला र प्रशिक्षणमा भाग लिनुभयो । व्यवहार परिवर्तन कक्षामा आफ्ना मान्यजन र समुदायका अगुवाहरुलाई समेत व्यवहार परिवर्तनको बारेमा अभिमुखीकरण गर्नुपर्ने भयो, जसले उहाँको सहजीकरण र सञ्चार सीप विकास गर्न सहयोग पुग्यो । “राम्रो काम गर्नुपर्छ भन्ने भावना त थियो, तर आवश्यक ज्ञान सीप मैले वास च्याम्पियन भएपछि पाएँ”, शर्मिलाको भनाइ छ ।


उहाँको कार्यबोझ निकै बढी भयो । टोलहरुलाई सफा र स्वच्छ क्षेत्रको रुपमा विकास गरी घोषणा गर्ने योजना गाउँपालिकाले बनायो । वास एसडिजी परियोजना/ह्याण्ड्स नेपाल/प्लान इन्टरनेशनल नेपालले हातेमालो गरे । “मैले वास च्याम्पियनको रुपमा नियमित रुपमा समय दिन नसक्ने भएपछि वडा कार्यालयले नयाँ वास च्याम्पियन नियुक्त गर्‍यो”, उहाँ सुनाउनुहुन्छ, “नयाँ वास च्याम्पियनको क्षमता विकास गर्ने, घरधुरी र संघसंस्थामा सूचकमा आधारित भएर अनुगमन गर्ने र व्यवहार परिवर्तन कक्षा सहजीकरण गर्ने कार्यमा वास च्याम्पियन सँगसँगै म पनि रहें ।”

उहाँ अहिले दैनिक जसो समय मिलाएर टोल र घरधुरीमा सरसफाइ तथा स्वच्छता प्रबर्द्वनमा क्रियाशील हुनुहुन्छ । औपचारिक रुपमा कार्यपालिका सदस्यहरुले निभाउनुपर्ने दायित्व पनि उत्तिकै प्रभावकारी रुपमा निभाइरहनुभएको छ । “उहाँ कार्यपालिका सदस्यको रुपमा समेत निकै सक्रिय भूमिका खेलिरहनुभएको छ, सामाजिक कार्यमा समेत उत्तिकै प्रभावकारी अगुवाइ गर्नुहुन्छ”, मरिण गाउँपालिका वडा नं. ७ का अध्यक्ष चन्द्रबहादुर थिङ भन्नुहुन्छ, “टोलहरुलाई सफा र स्वच्छ क्षेत्र बनाउने अभियानमा समेत उहाँले नेतृत्वदायी भूमिका निभाइरहनुभएको छ ।”

शर्मिला अब सफल जनप्रतिनिधि र सामाजिक अगुवा मात्र होइन, समाचारको केन्द्र समेत बनिरहनु भएको छ । वास खवरका लागि उहाँसँग कुराकानी गर्न उहाँको कार्यालयमा पुग्दा उहाँले सिन्धुलीका सञ्चारकर्मीहरुलाई भिडियो अन्तरवार्ता दिइरहनुभएको थियो ।

केही समय पर्खिएपछि उहाँसँग कुराकानी गर्ने मौका मिल्यो । “अरु सबै कमाइ सकिएर जाने रहेछ, तर समुदायको व्यवहार परिवर्तनको माध्यमबाट समुदायलाई सफा र स्वच्छ राख्न गरेको योगदान समुदायले सधैं सम्झने रहेछ”, कुराकानी बिट मार्दै गर्दा उहाँले सुनाउनुभयो, “जिन्दगीको सबैभन्दा ठूलो कमाइ यही रहेछ, जसले मलाई कानुन निर्माण गर्ने कार्यपालिकामा पुग्न सिंढीको काम गर्‍यो ।”

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार