ग्यास उत्पादनका लागि फोहोरको मात्रा अपुग भएपछि कम्पनी आफै गाईवस्तु पाल्दै

घर घरसम्म पाइप मार्फत ग्यास पुर्‍याईदै

  वास खबर सम्वाददाता  453 पटक हेरिएको

दाङ: फोहोरबाट ग्यास उत्पादन गर्न फोहोरको मात्रा नपुगेपछि कम्पनी आफैले पशुपालन गर्ने तयारी गरेको छ । जैविक फोहोरको सट्टा पशुचौपायाको गोबर प्रयोग गरी ग्यास उत्पादन गर्न कम्पनीले पशुपालनको तयारी गरेको हो । यसका लागि नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिकासँग ग्यास प्लान्ट क्षेत्रमा जग्गा माग गरिएको प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।

‘जग्गा उपलब्ध भए बजार क्षेत्रमा छाडा रहेका पशु तथा उन्नत जातका भैंसी पालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । ‘यसका लागि जग्गाको पर्खाइमा छौ’ पशुपालन गरेपछि गोबर उत्पादन हुन्छ । पर्याप्त गोबर भएमा जैविक फोहोर नपाए पनि ग्यास उत्पादन गर्न सकिन्छ’ उहाँले भन्नुभयो । फोहोरका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेर कुरा गरेपनि फोहोर पाउन नसकेको उहाँको भनाइ छ ।

ग्यास प्लान्टलाई दैनिक २५ टन फोहोर आवश्यक पर्ने भएपनि अहिले ४ देखि ५ सय केजी मात्र फोहोर उपलब्ध छ । जसले गर्दा पर्याप्त मात्रामा ग्यास उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो। फोहोर नपाउँदा कम उत्पादन भएपछि अहिले गरुवा गाउँका ३४ घरमा मात्र ग्यास वितरण गरिएको छ । ग्यास प्रयोग गरे बापतको मूल्य निर्धारण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । अहिले दैनिक ६० देखि ६५ घन मिटरसम्म ग्यास उत्पादन हुने गरेको उहाँको भनाइ छ ।

सुरुका दिनमा जिल्लाका विभिन्न स्थानमा पुगेर कुखुरा, गाई भैंसीको गोबर ल्याएर राखेकाले केही धेरै ग्यास उत्पादन भएको थियो । फोहोर पर्याप्त मात्रामा उपलब्ध भएमा ७५० घरका लागि ग्यास पुग्ने उहाँको भनाइ छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिका बीच त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ मा भएको थियो । नगरपालिकाले जग्गा मात्र उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

ग्यास उत्पादनका लागि नगरपालिकाले संरचना निर्माणका लागि करिब तीन बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्यास प्लान्ट दुई हजार घन मिटरको रहेको कम्पनीको भनाइ छ । ग्यास उत्पादन गर्नका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइप मार्फत घरघरमा ग्यास पुर्‍याउनु पर्ने भएपछि करिब २२ करोड बढी खर्च हुने बताइएको छ । अहिले सबै स्थानमा पाइप विस्तार भइसकेको छैन । उत्पादन भएको ग्यास पाइप मार्फत् घर घरमा पुर्‍याउने योजना छ ।

पहिलो चरणमा ७५० घर घुरीमा पुर्‍याउने भनेर सर्भे गरिएको छ । थप पछि विस्तार गरिने समेत योजना छ । फोहोरबाट ग्याससँगै कम्पोस्ट मल समेत उत्पादन गरिने उहाँले बताउनुभयो। कम्पनी र नगरपालिका बीच २० वर्षको सम्झौता गरिएको छ । २० वर्षका लागि कम्पनीले नगरपालिकालाई नाफाको पाँच प्रतिशत रकम दिने सहमति भएको छ । यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ । ग्याससँगै कम्पोस्ट मल समेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहजता हुने उपमहानगरपालिकाको अपेक्षा छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार