बुटवल : सरकारको करोडौं रुपैयाँ लगानीमा निर्माण भएका दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु सञ्चालन हुन नसकेर यत्तिकै अलपत्र अवस्थामा छन् । केही समय अंशिक रुपमा सञ्चालन भएपनि देशका कतिपय स्थानमा बनेका ती प्रशोधन केन्द्रहरु अहिले अलपत्र जस्तै बनेका छन् ।
तर रुपन्देहीको बुटवल उपमहानगरपालिकामा निजी क्षेत्रले नै दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गरिरहेका छन् । यसको अगुवाई उपमहानगरपालिका १० का याम थापाले गर्नुभएको छ ।
थापा र उहाँका सहकर्मीहरु मिलेर अहिले दिसाजन्य लेदोलाई प्रशोधन गरी जैविक मल उत्पादन गरिरहनु भएको छ । छरिएर रहेका सफाइ व्यवसायीहरुलाई एकत्रित गरी थापाकै अग्रसरतामा बुटवल सेनेटरी प्रा.लि.नामक कम्पनी स्थापना गरी दिसाजन्य लेदो, कुखुराको सुली र गाईवस्तुको गोबरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्न थालेको हो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
यसका लागि कम्पनीले बुटवल उपमहानगरपालिका १० रामनगरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरेको छ । प्रशोधन केन्द्रमै मल उत्पादनका लागि चाहिने संरचना निर्माण र मेसिन जडान गरी मल उत्पादन गर्न थालेको हो। कम्पनीले हाल दैनिक ८० हजार देखि १ लाख लिटर दिसाजन्य लेदो संकलन गरी एक देखि डेढ टन मल उत्पादन गर्दैै आएको छ ।
मानव मलमूत्रलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने र यसबाट केही प्रतिफल पनि लिने उद्देश्यले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण एवं मल उत्पादनको काम थालेको उहाँको भनाइ छ ।
अध्यक्ष थापाका अनुसार दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण, मेसिन खरिद, केन्द्रसम्म जाने पहुँच मार्ग निर्माण, विद्युत जडान लगायतमा गरी डेढ करोड भन्दा बढी लगानी भैसकेको छ । कम्पनीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रको सेप्टिक ट्याङ्क खाली गरी दिसाजन्य लेदोको प्रशोधन गर्दै आएको छ ।