दाङ : खानेपानीको मुहान संरक्षणका लागि वनजंगल जोगाउनु पर्नेमा जोड दिएका छन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औं साधारण सभाका सहभागीहरुले हरियाली बढाउन सकेमा मात्र पानीको मुहान संरक्षण गर्न सकिने बताएका हुन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सबै नागरिकलाई सहज रूपमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्न चुनौती रहेको बताउनुभयो। यसका लागि ३ वटै तहका सरकार तथा खानेपानी संस्था लागि परेको उहाँको भनाइ छ । ‘स्वच्छ खानेपानी पाउनु नागरिकको मौलिक अधिकार हो’ नगर प्रमुख चौधरीले भन्नुभयो।
अहिले आठ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित हुनु परेको नगर प्रमुख चौधरीले बताउनुभयो । पानीको मुहान संरक्षणको लागि घोराही उपमहानगरपालिकाले जलाशय निर्माण कार्यलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । जलाशय निर्माण गरेमा पानी रिचार्ज समेत हुने उहाँको भनाइ छ । ‘उपमहानगरका सम्भावना रहेका क्षेत्रमा थप जलाशय निर्माण गरेर अगाडि बढ्ने छौं’ नगर प्रमुख चौधरीले भन्नुभयो।
पानी प्रदूषण हुन नदिन खोला सफाइ अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । खोलामा सफाइ गरेर पानी प्रदूषण हुनबाट रोक्ने काम गरिने उहाँले बताउनुभयो । यसका लागि उपमहानगरपालिकाले बजेटको व्यवस्था गरिसकेको छ । घोराहीलाई स्वच्छ र सफा बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। हरेक नागरिकले आफ्नो घरको नजिक विरुवा रोप्न समेत उहाँले आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले नागरिकहरूलाई स्वच्छ खानेपानी सेवा पुर्याउन खानेपानीका संस्थाहरूको ठूलो सहयोग रहेको बताउनुभयो । ‘खानेपानी संस्थाहरूले राज्यलाई सहयोगी भूमिका निर्वाह गरेको र यसले नागरिकलाई सहजता भएको छ’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो। विकास निर्माणमा उपभोक्ताहरूको विकृति रहेको भन्दै खानेपानीका संस्थाहरूबाट सिक्न समेत उहाँले आग्रह गर्नुभयो।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जका सुधीरकुमार शाहले घोराही खानेपानी संस्थाले खानेपानीको समस्या समाधानका लागि थालेको बबइ लिप्ट आयोजनाको काम तीव्र रूपमा अगाडि बढेको बताउनुभयो। कामले गति लिएको भन्दै समयमै निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । नेपाली काँग्रेस दाङका जिल्ला उप सभापति कमानसिंह भारतीले पानीको मुहान संरक्षणका लागि उतरी क्षेत्रमा वृक्षारोपण गर्नु पर्ने बताउनुभयो । वृक्षरोपण गरेर हरियाली बढाउन सकेमा पानीको मुहान संरक्षण हुने उहाँको भनाइ छ ।
यस्तै नेकपा समाजवादीका गुरू प्रसाद महराले हरियाली बढाउन सकेमा पानीको स्रोतको संरक्षण गर्ने सकिने भन्दै त्यसतर्फ लाग्न आग्रह गर्नुभयो। यसका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले जिल्लामा चुनढुंगाको उत्खनन् गरिँदा पानीको मुहान सुक्दै जाने बताउनुभयो । यसका लागि उतरी क्षेत्रमा रहेको चुनढुंगा उत्खनन् रोकिनुपर्ने खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।
समितिका सल्लाहाकार भुपबहादुर डाँगीले विकासमा राजनीति नहुने बताउनुभयो। जिल्लाको विकासका लागि सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले नागरिकलाई स्वच्छ र नियमित खानेपानीको व्यवस्था गर्न अगाडि बढ्नु पर्ने बताएका थिए । उनीहरूले बजारी क्षेत्रमा सार्वजनिक धाराको व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन्।