खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डमा दलिय भागबण्डा

  वास खबर सम्वाददाता  662 पटक हेरिएको

गोरखा : गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डमा दलिय भागबण्डा लगाईएको छ । खानेपानी व्यवस्थापन बोर्डमा नेपाली काँग्रेसको तर्फबाट उपमेयर सहित ५ जना र माओवादीको तर्फबाट ४ जना राख्ने सहमति भएको उपमेयर मसलीमायाँ थोकर पुनःले बताउनुभयो।

राजनीतिक भागवण्डा नमिल्दा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन ढिलाइ भएको हो । नगरपालिकाद्वारा जारी ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ लागू भएको सात महिनापछि बल्ल बोर्ड गठन हुन लागेको हो ।

‘नगर क्षेत्रको खानेपानी तथा सरसफाइ व्यवस्थापनका लागि’ भन्दै नगरपालिकाले जारी गरेको ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ गत असार १० गतेको बाह्रौ नगरसभाबाट स्वीकृत भै साउन १० गतेबाट लागू भएको थियो। ऐनले तोकेको कार्य सम्पादनका लागि बोर्ड गठन गर्नुपर्ने भएपनि बल्ल राजनीतिक भागवण्डा मिलेपछि बोर्ड गठनको बाटो खुलेको हो ।

दलिय भागबण्डा अनुसार खानेपानी बोर्डमा अब नेपाली काँग्रेसका तर्फबाट उपमेयर थोकर सहित गोरखा नगरपालिका ९ र १२ को वडा अध्यक्ष तथा पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोत्ता समिति र कर्णे खोला खानेपानी तथा सरसफाइ उपभोत्ता समितिको तर्फबाट १–१ जना महिला र पुरुष सदस्य हुनेछन्।

यस्तै माओवादीको तर्फबाट मेयर र गोरखा नगरपालिका–७ का वडा अध्यक्ष सहित ४ जना हुनेछन् । माओवादीबाट १–१ जना महिला र पुरुष रहनेछ । महिलाको नाम सार्वजनिक नभएता पनि पुरुषमा भने रामहरी केसीलाई राख्ने चर्चा चलेको छ ।

मेयरको अध्यक्षतामा हुने बोर्डको सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत रहने ब्यवस्था छ भने अन्य १ सदस्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख रहनेछन् ।

बोर्डमा दलिय भागबण्डा मिलेपछि लामो समयदेखि रोकिएको गोरखा नगरपालिकाको नगर सभा समेत हुने भएको छ । भागबण्डामा काँग्रेस–माओवादी सहमति सँगै नगरपालिकाको नगरसभा फागुन १७ गते गर्ने सहमति भएको गोरखा नगरकार्यपालिकाका एक सदस्यले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार