एकीकृत शहरी सूचना प्रणाली (IMIS) बारे अभिमुखीकरण

  वास खबर सम्वाददाता  1433 पटक हेरिएको


काठमाडौ : एकीकृत शहरी सूचना प्रणाली (आईएमआईएस) का बारेमा अभिमुखीकरण गरिएको छ । सिटीवाईड इन्क्लुसिभ स्यानिटेसन एलायन्स नेपाल (CWIS Alliance Nepal) का सदस्य संस्थाहरुले पालैपालो सिकाई आदानप्रदान गर्ने क्रममा इनोभेटिभ सोलुसन्स प्रा.लि.ले आईएमआईएस बारेअभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले यथार्थपरक तथ्याङ्कको अभावमा विकास निर्माणमा चुनौती थपिएको र खानेपानी तथा सरसफाइ क्षेत्रको यही अभावलाई पूर्ति गर्न खानेपानी मन्त्रालयले राष्ट्रिय सूचना प्रणालीको रुपमा तथ्याङ्कहरु संकलन गर्न एनवास एमआईएस तयार गरिएको बताउनुभयो ।

‘कहाँ के पुगेको छैन भन्ने कुरा पहिल्यै निक्र्यौल गर्न तथ्याङ्कहरु आवश्यक पर्छ । खानेपानी कहाँ पुगेको छैन ? कहाँ के ग्याप छ ? भएको ठाउँमा के कस्तो कमजोरी छ ? भन्ने कुरा खानेपानीको क्षेत्रमा अहिले एनवासले ठूलो काम गरिरहेको छ’ उहाँले भन्नुभयो ।


सहसचिव श्रेष्ठले सरसफाइको सुक्ष्म डाटाहरु समेत प्रविष्ट गर्न सफ्टवेयरलाई अद्यावधिक गर्ने कार्य भैरहेको जानकारी गराउँदै ५ सयको हाराहारीमा स्थानीय तहहरुले खानेपानी प्रणालीहरुको डाटा प्रविष्ट गरिसकेको बताउनुभयो ।

इनोभेटिभ सोलुसन्सले तयार पारेको आईएमआईएस सफ्टवेयरले सरसफाइ सम्बन्धीका सुक्ष्म तथ्याङ्कहरु संकलन गरी नगरव्यापी समावेशी सरसफाइको अवधारणालाई समेत मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले हरेक पालिकाहरुले छुट्टा छुट्टै सफ्टवेयर प्रयोग गर्नुभन्दा पनि आईएमआईएसमा संकलन भएको डाटालाई एनवासमा समेत समाहित गरी खानेपानी, सरसफाइ र स्वच्छताका तथ्याङ्कहरु एकीकृत रुपमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।


के हो आईएमआईएस ?

Integrated Municipal Information System (IMIS) नगरपालिकाहरुले आफ्नो भौगोलिक क्षेत्र भित्रका विभिन्न तथ्याङ्कहरु संकलन गरी कामलाई सरलीकृत गर्ने गरी निर्माण गरिएको एकीकृत सफ्टवेयर हो । यसमा भवन, विद्यालय, सडक, खानेपानी, सरसफाइ, कर प्रणाली लगायत १० वटा मोडुलहरु समेटिएका छन् । तर यसलाई कस्टमाईज गरी नगरपालिकाले आवश्यकता बमोजिम थप गर्न पनि मिल्ने इनोभेटिभ सोलुसन्स प्रा.लि.का कार्यकारी निर्देशक भुषणराज श्रेष्ठले बताउनुभयो ।


वर्तमान समयमा सरसफाइको समाधानको लागि सरसफाइको डाटा भएर मात्र नपुग्ने र सहरका अन्य अवयवहरुको डाटा समेत आवश्यक पर्ने उहाँले बताउनुभयो । ‘शहरको रोड, भवन, ढल लगायत तथ्याङ्कहरु पनि यसमा नभई हुँदैन’ उहाँले भन्नुभयो।

उहाँको भनाईमा नयाँ भवन थपिनु भनेको ढल प्रणालीमा मानव मलमूत्र थपिनु हो । यसर्थ भवनको सूचना र तथ्याङ्क पनि सरसफाइका लागि उत्ति नै महत्वपूर्ण छ । तर अहिलेसम्मको अभ्यास हेर्दा त्यसमा ध्यान दिईरहेको हुँदैन ।

‘भैरहेको सरसफाइ प्रणाली अर्थात भैरहेको सेप्टिक ट्याङ् र पिटहरुलाई मात्र ध्यान दिईरहेका हुन्छौं’ श्रेष्ठ भन्नुहुन्छ ‘नयाँ आएकालाई के गर्ने भन्ने कुरा ध्यानै दिएका हुँदैनौं। तर यसको समाधान आईएमआईएसले गर्छ ।’


कसरी त ?

आईएमआईएस नेपाल, वंगलादेश तथा अफ्रिका लगायत विभिन्न देशका ६ वटा सहरले उपयोग गरिरहेको छ । अब चाँडै चार वटा सहरमा समेत विस्तार हुन गईरहेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा यही सफ्टवेयरको माध्यमबाट काम भैरहेको छ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रको हरेक घरको शौचालय र सेप्टिक ट्याङ्कीको स्थिति, ढल प्रणालीमा जडान गरिएको घरपरिवारको विवरण, हरेक घरको सरसफाइ सम्बन्धी विवरण, घर निर्माको चरणदेखि नै समाविष्ट गर्दै आएकोछ ।

नगरपालिकाले घरको नक्सा पासको प्रक्रिया पनि सफ्टवेयर मार्फत नै गर्दै आएको छ ।

नगरपालिकाको सरसफाइका तथ्याङ्कहरु जिआईएस (GIS) बेसमा राखिने र यसले रियल टाईम डाटा उपलब्ध हुने भएकाले सजिलो छ । घरको नक्सा पास भएपछि सर्जिमिन मुचुल्का संकलनका लागि गएको प्राविधिकले नै सम्बन्धित ठाउँमै बसेर फोटो सहितका विवरणहरु भर्न सकिने र यसले कर्मचारीको कार्यभारलाई समेत कम गरेको प्राविधिकहरु बताउँछन् ।


अभिमुखीकरण कार्यक्रममा नगरव्यापी समावेशी सरसफाइलाई सफ्टवेयरले कसरी सहयोग पु¥याउन सक्छ भन्ने बिषयमा डेमो समेत गरिएको थियो । त्यसमा सेवाग्राहीले सफ्टवेयरको माध्यमबाट कसरी सूचना दिन सक्छन् ? उक्त सूचनाको सुनुवाई तत्काल कसरी हुन्छ ? सेवाग्राहीले सेवा प्राप्त गरेपछि सेवा प्रतिको धारणा कसरी व्यक्त गर्न सक्छन् ? लगायत बिषयमा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा सिबिसानका सदस्य सचिव एवं युएन ह्याबिटाटकी नेसनल प्रोफेस्नल अफिसर (वास) सुधा श्रेष्ठले नगरपालिकाहरुले आईएमआईएस सफट्वेयर प्रयोगमा ल्याई संकलन गरेका इन्फर्मेसनहरुलाई सेन्टर डाडा सिस्टम सँग पनि कसरी आबद्ध गराउन सकिन्छ भन्नेमा सोच्नु पर्ने बताउनुभयो ।


‘नगरपालिकाहरुले स्यानिटेसन सर्भिस चेनको हरेक विधाको सूचनालाई कसरी प्रबिष्ट गर्न सकिन्छ ? जुन नगरपालिकाहरुमा वास प्लानहरु बनिरहेको छ, ती वास प्लानहरुमा प्रमाणमा आधारित यस्ता तथ्याङ्कहरु समावेश गर्न सक्यौं भने मात्र राम्रो नतिजा दिन्छ’ उहाँले भन्नुभयो ।


इनोभेटिभ सोलुसन्स सूचना र प्रविधिमा आधारित सन् २००७ मा स्थापना भएको कम्पनी हो । सूचना प्रविधिको माध्यमबाट विकासका चुनौतीहरुलाई सम्बोधन गर्ने लक्ष्य सहित यो कम्पनी स्थापना भएको हो ।

कम्पनीले सूचना प्रविधिको माध्यमबाट नव प्रवर्तनहरु गरी नीतिगत, योजना निर्माण र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार