हुम्ला देखि ताप्लेजुङ सम्मका स्थानीय सरकार प्रमुखहरु एउटै मञ्चमा

नेपालका ५.३ प्रतिशत खानेपानी आयोजनामा जिडब्लुटीको लगानी

  वास खबर सम्वाददाता  1772 पटक हेरिएको


म्याग्दी : कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय सरकारका प्रमुखहरु एउटै थलोमा भेला भएका छन् ।गोरखा वेलफेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गर्न स्थानीय सरकारका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भेला भएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको समन्वयमा गोर्खा वेलफेयर ट्रष्टद्वारा आयोजित अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रममा उत्थानशील खानेपानी, सरसफाइ र विपद जोखिम न्यूनीकरणका बिषयमा हरेक पालिकाले सिकाई र अनुभव आदानप्रदान गरिएको छ ।


कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रमका निर्देशक दिपक कुमार श्रेष्ठले कार्यक्रमको उद्देश्य र गोर्खा वेल्फेयर ट्रष्टले नेपालमा गरिरहेको परोपकारी कामहरुको बारेमा जानकारी गराउनुभयो।

३ प्रतिशतले पिउँछन् ट्रष्टले बनाएको खानेपानी

नेपालको कुल जनसंख्या मध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका ३ प्रतिशत जनसंख्यामा गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा निर्माण भएका खानेपानीको पहुँच पुगेको छ। ट्रष्टको उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रमका निर्देशक दिपक कुमार श्रेष्ठले ५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजनाहरु निर्माण गरी ३ प्रतिशत जनसंख्यामा खानेपानी सेवाको पहुँच पु¥याउन सफल भएको जानकारी गराउनुभयो।

उहाँले ग्रामीण भेगमा निर्माण भएका खानेपानी तथा सरसफाइ आयोजना मध्ये ५.३ प्रतिशत खानेपानी प्रणालीमा ट्रष्टको योगदान रहेको जानकारी गराउनुभयो । यसबाट ८० हजार ४५५ घरपरिवारका ५ लाख ६ हजार ११८ जना लाभान्वित भएका छन् ।

यस्तै ६१ हजार ६३४ वटा धारा निर्माण, ४३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको उहाँले जानकारी गराउनुभयो । गोर्खा वेलफेयर ट्रष्टले सन् १९७६ देखि नेपालमा विद्यालय भवन निर्माण, विभिन्न स्वास्थ्य शिविर सञ्चालन र खानेपानी तथा सरसफाइ आयोजना निर्माणको कामहरु गर्दै आएको छ ।

नेपालका खानेपानी आयोजना सबैभन्दा दिगो

बेलायत सरकारको सहयोगमा नेपाल सहित विश्वका ७ वटा देशमा सञ्चालित खानेपानी आयोजना मध्ये नेपालमा निर्मित खानेपानी आयोजना सबैभन्दा दिगो रुपमा सञ्चालन भएको देखिएको छ। सहयोग प्राप्त देशहरु जाम्बिया, पाकिस्तान, नेपाल, मोजाबिक, मलावी, कंगो र बंगलादेशमा निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये सुचारु अवस्थामा रहेका सबैभन्दा धेरै खानेपानी आयोजनाहरु नेपालमा रहेका छन् ।

गोर्खा वेलफेयर ट्रष्टद्वारा निर्माण गरिएका खानेपानी आयोजनाहरु मध्ये ६३ प्रतिशत खानेपानी आयोजना पूर्ण रुपमा सुचारु अवस्थामा रहेको निर्देशक श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले गर्नुभएको प्रस्तुतीकरणमा २६ प्रतिशत खानेपानी आयोजना आंशिक रुपमा चलेका र ११ प्रतिशत मुश्किलले चलेका खानेपानी आयोजनाहरु छन् ।

‘नेपालमा निर्माणका भएका खानेपानी आयोजनाहरु मध्ये नचलेका वा बन्द भएका कुनै पनि खानेपानी आयोजना छैनन्’ उहाँले भन्नुभयो।

जबकि उल्लेखित सात वटै देशहरुमा निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये ४७ प्रतिशत खानेपानी आयोजनाहरु बन्द नै भएका छन् भने ५३ प्रतिशत खानेपानी आयोजना मात्र सञ्चालनमा छन्। बंगलादेशमा सबैभन्दा बढी खानेपानी आयोजनाहरु बन्द भएका छन्। सर्भेक्षण अनुसार बंगलादेशका २०.७ प्रतिशत खानेपानी आयोजनाहरु बन्द भएका छन्।

यस्तै पूर्ण रुपमा सुचारु अवस्थामा रहेका सबैभन्दा कम खानेपानी आयोजना कंगोका छन् । कंगोमा निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये १६.७ प्रतिशत खानेपानी आयोजना मात्र सुचारु अवस्थामा छन् ।


४ नगरपालिका र १० गाउँपालिकामा उत्थानशील खानेपानी

गोर्खा वेलफेयर ट्रष्टले १४ जिल्लाका ४ नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यशालामा कार्यक्रम सञ्चालित १४ जिल्लाका १४ पालिका र विश्व खाद्य कार्यक्रमको स्थानीय सहयोग पूर्वाधार कार्यक्रम सञ्चालित जाजरकोटको बारेकोट गाउँपालिका र हुम्लाको ताँजकोट गाउँपालिकाका अध्यक्षको समेत सहभागिता रहेको छ । कार्यशालामा सहभागी जिल्ला र गाउँपालिकाहरु :


१. जाजरकोट जिल्ला, भेरी नगरपालिका
२. रुकुम पश्चिम, चौरजहारी नगरपालिका
३. बारा जिल्ला, कोल्हवी नगरपालिका
४. संखुवासभा जिल्ला, पाँचखपन नगरपालिका
५. रुकुम पूर्व जिल्ला, भुमे गाउँपालिका
६. गुल्मी जिल्ला, कालीगण्डकी गाउँपालिका
७. पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिकाका अध्यक्ष
९. लमजुङ जिल्ला, दोर्दी गाउँपालिका
१०. कास्की जिल्ला, मादी गाउँपालिका
११. ताप्लेजुङ जिल्ला, मैवाखोला गाउँपालिका
१२. हुम्ला जिल्ला, ताँजकोट गाउँपालिका
१३. जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका
१४. रामेछाप जिल्ला, गोकुलगंगा गाउँपालिका
१५.सोलुखुम्बु जिल्ला, सोताङ गाउँपालिका
१६. म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका

कार्यक्रमका थप फोटोहरु: 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार