सामरी सम्पवेलको आरम्भ, बोर्डमा थपियो दैनिक ६० हजार लिटर पानी

  वास खबर सम्वाददाता  295 पटक हेरिएको

हेटौँडा : हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले मकवानपुरगढी वडा नं. ४ सामरीमा शुक्रबार सामरी सम्पवेलको सुरुवात गरिएको छ। हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ४, ५ र १० का लागि खानेपानी पठाउन सामरी सम्पवेलको शुभारम्भ गर्नुभयो।

सामरी सम्पवेलको शुभारम्भ भएसँगै दैनिक ६० हजार लिटर पानी थप भएको छ । हाल बोर्डमा सतहगत मुहान १ वटा, डिप बोरिङ् ३७ वटा, समवेल १३ वटा र पानी भण्डारण क्षमता ६ हजार ४४९ घनमिटर छ छ ।

खानेपानी योजना मार्फत लगभग १० हजार घरधुरी र ६० हजार जनसङ्ख्या लाभान्वित हुनेछन् । बोर्डले दुई साता लगाएर करिब २५ लाख लगानीमा खानेपानी योजना सम्पन्न गरेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले जानकारी दिनुभयो । बोर्डले दैनिक दुई करोड ६२ लाख लिटर खानेपानी उत्पादन गर्दै आएकोमा शुक्रबार देखि दैनिक तीन करोड २२ लाख लिटर पानी उत्पादन गर्न थालेको बिष्टले बताउनुभयो । बोर्ड अन्तर्गत हाल २६ हजार ८८९ वटा धारा छ ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिका अन्तर्गत वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० गरी ८ वटा वडाको सबै भूभाग र वडा नं. १, ३, १४, १५, १६, १७, १८ र १९ का केही भूभागमा बसोबास गर्ने करिब एक लाख ६० हजार नगरवासीलाई दैनिक ८ घण्टा खानेपानी वितरण गर्दै आएको छ ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पानी महसुल बिलिङ आठ करोड ८३ लाख २९ हजार मध्ये आठ करोड ३६ लाख ७४ हजार अर्थात् ९४ दशमलव ७३ प्रतिशत उठाउन सफल भएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड हेटौँडाका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बोर्डबाट ५३ लाख ७८ हजार पानी महसुल उठाउँन बाँकी रहेकोमा जोखिमयुक्त बक्यौता १५ लाख रुपियाँ रहेको सापकोटाले बताउनुभयो । चालु आवको फागुन मसान्तसम्म ५७ लाख ६ हजार ग्राहकबाट अग्रिम पानीको महसुल बापतको रकम प्राप्त भएको र पेस्की र बेरुजु शून्य रहेको उहाँले बताउनुभयो ।


हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नागरिकको आधारभूत आवश्यकता परिपूर्तिका लागि गम्भीर भएर अघि बढिरहेको बताइन् । नागरिकको शिक्षा स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवालाई उपमहानगरपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

सो अवसरमा मेयर लामाले नागरिकहरूलाई सुविधा र सेवा प्रवाहमा सहजता प्रदान गर्न उपमहानगरपालिकाले भूमिका खेलेको बताउनुभयो। जनताले महसुस गर्ने गरी विकास निर्माण लगायतका काम गरिरहेको उहाँको भनाइ थियो। मेयर लामाका अनुसार उपमहानगरपालिकाले बोर्डसँगको समन्वयमा हेटौडाका ८ हजार बढी नागरिकलाई निःशुल्क खानेपानी वितरण गर्दै आएको छ ।

सो दरलाई वृद्धि गर्न हेटौँडाका विकट वडाका खानेपानी उपभोक्ता समितिहरूलाई बोर्डमा आबद्ध गर्ने काम भइरहेको उहाँले बताउनुभयो । नागरिकको जीवनस्तर सुधार गर्न उपमहानगरपालिकाले नीतिगत रूपमा सुधार गर्दै बजेट तथा कार्यक्रम ल्याउने र नागरिकहरूलाई सुविधाहरू क्रमशः वृद्धि गर्दै अघि बढ्ने तयारी रहेको उहाँले बताउनुभयो। उपमहानगरपालिकाले विकास निर्माणलाई आर्थिक उपार्जनमा जोड्ने गरी अघि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तानले खानेपानीका लागि नागरिकहरूले व्यहोरेको सास्तीलाई बोर्डले केही हदसम्म समाधान गरिदिएको बताउनुभयो । बोर्ड मार्फत मकवानपुरगढी–४ सयपत्री गाउँका नागरिकहरूले सहज रूपमा पानी खाने अवस्था बनेको उहाँको भनाइ छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार