वीरगन्ज : वीरगन्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेहरूबाट जरिवाना स्वरुप २७ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ।२०७९ पुस १७ गतेदेखि गत फागुन सम्मको अवधिमा जथाभावी फोहोर फाल्ने ९ सय जनालाई कारबाही गरी २७ लाख २ हजार ६०५ रुपैयाँ जरिवाना बापत राजस्व संकलन गरिएको महानगरपालिकाको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो।
चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ८ महिनाको अवधिमा भने जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार ९०० रुपैयाँ जरिवाना बापत राजस्व संकलन गरिएको उहाँले बताउनुभयो। उक्त अवधिमा जथाभाबी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी ३ सय ८० जना माथि महानगरले कारबाही गरेको उहाँले जानकारी दिनुभयो।
वीरगन्ज महानगरपालिकाले सडक, नाला वा खाली ठाउँमा जथाभावी फोहोर फाल्ने विरुद्ध २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना गर्ने नियम सुरु गरेको थियो ।
‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभाबी फाल्ने प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भन्नुभयो ‘त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ।’ जथाभावी फोहोर फाल्ने विरुद्ध आर्थिक जरिवाना गर्न थालेपछि शहरको सरसफाइको अवस्थामा निक्कै सुधार आएको उहाँको दाबी छ। तर आर्थिक जरिवाना गर्दा पनि जथाभावी फोहोर फाल्ने प्रवृत्ति पूर्ण रुपमा नरोकिएकाले त्यस्ता व्यक्ति वा संस्था विरुद्ध अब सार्वजनिक मुद्दा चलाउने पनि महानगरको योजना रहेको उहाँले बताउनुभयो।
मियाँका अनुसार,वीरगन्ज शहरलाई सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा दैनिक तीन पटक सडक र नालाको सरसफाइ हुँदै आएको छ। यसका साथै वर्षा याम सुरु हुनुअघि महानगरभित्रका सबै साना–ठूला ढल र नाला सफा गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको पनि प्रमुख मियाँले बताउनुभयो।
सफा, सुन्दर र वैभव वीरगन्ज बनाउने मेयर राजेशमान सिंहको चाहना र योजना रहेको सुनाउँदै मियाँले त्यही योजना अनुसार बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेको बताउनुभयो।