काठमाडौ : गोर्खा वेल्फेयर ट्रष्टले नेपालको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा मात्र करिब साढे ४ अर्ब लगानी गरेको छ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा ट्रष्टको ४ अर्ब ३७ करोड ४० लाख ५० हजार ५६९ रुपैयाँ लगानी भएको गोर्खा वेल्फेयर ट्रष्टका कार्यक्रम निर्देशक दिपक कुमार श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार ट्रष्टले हालसम्म ५१ जिल्लामा २ हजार ३ सय ८० वटा खानेपानी योजना निर्माण गरी ५ लाख ६ हजार ११८ जनालाई स्वच्छ खानेपानीमा पहुँच पुर्याएको छ ।
गोर्खा वेल्फेयर ट्रष्ट बेलायतमा स्थापना भएको एक लोक कल्याणकारी संस्था हो । ट्रष्टले नेपालमा सन् १९७६ देखि खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा र विपद प्रतिकार्यको क्षेत्रमा काम गर्दै आएको छ ।
सबैभन्दा धेरै लगानी कोशी प्रदेशमा
गोर्खा वेल्फेयर ट्रष्टले निर्माण गरेका खानेपानी तथा सरसफाइ आयोजनाहरु मध्ये प्रदेशगत हिसाबले हेर्दा सबैभन्दा बढी कोशी प्रदेशमा निर्माण भएका छन् । ट्रष्टले निर्माण गरेको २ हजार ३ सय ८० खानेपानी आयोजना मध्ये कोशीमा मात्र १ हजार १५ आयोजनाहरु बनेका छन्।
ट्रष्टको तथ्याङ्क अनुसार कोशी प्रदेशमा मात्र १ अर्ब ७८ करोड ३९ लाख ४४ हजार ६ सय ८९ रुपैयाँ लगानी भएको छ ।
यस्तै दोस्रोमा गण्डकी प्रदेशमा लगानी गरेको छ । गण्डकीमा ७ सय २५ वटा खानेपानी आयोजना निर्माण गर्न ९१ करोड ५८ लाख ८४ हजार ९ सय ९९ रुपैयाँ लगानी भएको छ ।
यस्तै लुम्बिनीमा ३ सय १८ वटा खानेपानी आयोजनाहरु निर्माण भएका छन्। जसका लागि ट्रष्टले ६९ करोड ३२ लाख ३० हजार ७ सय ८९ रुपैयाँ खर्च भएको छ ।
ट्रष्टले बाग्मती प्रदेशको लागि ६३ करोड ८० लाख ५९ हजार ९ सय ४८ रुपैयाँ खर्च गरेर २ सय ६६ वटा खानेपानी योजना निर्माण गरेको छ ।
यस्तै ट्रष्टको लगानीमा कर्णालीमा ४३ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन्। कर्णालीमा २३ करोड ३१ लाख २५ हजार ४ सय ३२ रुपैयाँ खर्च गरेको छ । यस्तै मधेस प्रदेशमा १२ वटा खानेपानी आयोजनाहरु सम्पन्न गर्न १० करोड २२ लाख ५५ हजार ६३१ रुपैयाँ खर्च गरेको ट्रष्टको तथ्याङ्कमा उल्लेख छ।
ट्रष्टले सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा लगानी गरेको छ । सुदुरपश्चिममा ७५ लाख ४९ हजार ८१ रुपैयाँ लागतमा एउटा मात्र खानेपानी योजना सम्पन्न गरेको छ ।
आफ्नो सेवा ५१ जिल्लामा पुर्याउन सफल गोर्खा वेल्फेयर ट्रष्टले पछिल्लो समय बेलायती दुतावासको आर्थिक सहयोगमा नेपालको १४ जिल्लाका १४ पालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त कार्यक्रमबाट खानेपानी तथा सरसफाइ आयोजनाहरु निर्माण गरिनुका साथै खानेपानी, सरसफाइ तथा स्वच्छता (वास प्लान) निर्माण गर्न पालिकाहरुलाई सहयोग पुर्याउँदै आएको ट्रष्टका अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रतिक गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यक्रम सञ्चालित पालिकाहरुलाई विपद प्रतिकार्यमा उपयोग हुने उद्धारका सामग्रीहरु समेत वितरण गरिएको छ। कार्यक्रम मार्फत विपद प्रतिकार्य योजना, स्थानीय विपद तथा जलवायू उत्थानशील मार्गदर्शन लगायत नीति निर्देशिका निर्माण गर्न समेत सहयोग पुर्याउँदै आएको उहाँले जानकारी दिनुभयो।
विपद प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु प्राप्त भएपछि पालिकाहरुले आपतकालिन कार्यसञ्चालन केन्द समेत सञ्चालनमा ल्याएका छन्।