स्वीडीस विज्ञ ‘भ्याकिन’ टोली द्वारा लेले खानेपानीको अनुगमन (भिडियो रिपोर्ट)

  वास खबर सम्वाददाता  487 पटक हेरिएको


ललितपुर : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोलीले ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेले खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन गरेको छ । स्वीडेनको भ्याकिन (Vakin) नामक संस्थाका पदाधिकारी र वाटर एड युकेका एडभाइजर सहितको टोलीले लेले खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन गरेको हो ।


भ्याकिनले उत्तरी स्वीडेनको तीन वटा स्थानीय तहको ग्रामीण तथा शहरी इलाकाका करिब १ लाख ४० हजार जनसंख्यालाई खानेपानी, सरसफाइ तथा ठोस फोहोरमैला व्यवस्थापन सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । भ्याकिनले यो सेवा करिब १७ वटा मुहान, १ हजार ८०० किलोमिटर पाइपलाइन, १५ बटा भन्दा बढी रिजर्भ्वायर बाट आपूर्ति गर्दै आएको छ । यस्तै ८ हजार ३ सय सेप्टिक ट्याङ्कको दिसाजन्य लेदो व्यवस्थापन गर्दै आएको छ। यसका लागि भ्याकिनसँग २४ वटा फोहोरपानी प्रशोधन केन्द्र र ५ वटा फोहोर व्यवस्थापन केन्द्रहरु रहेको छ।

भ्याकिनले खानेपानी र सरसफाइ क्षेत्रमा हासिल गरेको यही अनुभव साटासाट गर्ने र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले नेपाल आएको टोलीले शनिबार लेले स्थित खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन गरेको हो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

भ्याकिनको टोलीमा Project Manager, Communication officer Elin Backman, Environmental Engineer Cecilia Almroth, Project Manager Daniel Fredlander, Water Production technician Niclas Bergqvist र Maintenance technician Jimmy Solander तथा Water Operator Partnerships Advisor Jeanne Col हुनुहुन्छ।

वाटर एड नेपाल, भ्याकिन र गोदावरी नगरपालिकाको साझेदारीमा विगत १५ महिनादेखि ‘गोदावरी प्रावल्य वास परियोजना’ सञ्चालन भैरहेको छ । भ्याकिनले यस परियोजनामा प्राविधिक सहयोग पु¥याउँदै आएको छ।

खानेपानी उपभोक्ता समितिसँग छलफल

भ्याकिन टोलीले लेले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सहित अन्य पदाधिकारीसँग पनि भेटघाट तथा छलफल गरेको छ। गोदावरी नगरपालिकाको वडा नं. ५ को कार्यालयमा आयोजित छलफल कार्यक्रममा नगरपालिकाका इन्जिनियर सुनिल श्रेष्ठले आयोजनाको विगत र वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो।


इन्जिनियर श्रेष्ठले पहिलो चरणमा बिनियोजित बजेटबाट सम्पन्न भएका कामहरु र दोस्रो चरणमा भएको ठेक्का मार्फत हुने खानेपानीका संरचनाहरुका बिषयमा जानकारी गराउनुभयो। पहिलो चरणमा विनियोजित १ करोड बजेटमा निर्माण व्यवसायीले ७३ लाख १७ हजार ४०७ रुपैयाँमा ठेक्का हालेको र अन्तिममा ६३ लाख ९५ हजार ५७१ रुपैयाँ बराबरको भुक्तानी भएको जानकारी गराउनुभयो।

हाल निर्माणाधीन अवस्थामा रहेको दोस्रो चरण अन्तर्गत मझुवा एरियामा खानेपानी वितरणका लागि संरचना निर्माण गर्नुपर्ने, पाइपलाइन विछ्याउनुपर्ने, गार्ड हावस निर्माण गर्नुपर्ने र पम्पिङ सिस्टम जडान गर्नुपर्ने, र्‍यापिड फिल्टर जडान गर्नुपर्ने जस्ता कामहरु उहाँले जानकारी गराउनुभयो।


नगरपालिकाद्वारा विनियोजित ५ करोड ६३ लाख ९७ हजार ७ सय ३७ रकम मध्ये निर्माण कम्पनीले ५ करोड १७ लाख २७ हजार २ सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरेको र यसको म्याद आगामी सन् २०२५ को जुन महिना सम्म रहेको जानकारी गराउनुभयो।

विज्ञ टोलीले सोधे ‘तालिममा बसेर के भयो ?’

प्रस्तुतीकरणका क्रममा इन्जिनियर सुनिल श्रेष्ठले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि प्रगतिनगर खानेपानी आयोजना देवचुली र लेखनाथ खानेपानी उपभोक्ता समिति पोखरामा समेत अवलोकन अध्ययन भ्रमणमा लगेको, तीन दिनको खानेपानी सुक्षा योजना सम्बन्धी तालिम प्रदान गरेको जानकारी गराउनुभयो ।

त्यसपछि टोलीकी प्रोजेक्ट म्यानेजर Elin Backman ले सोध्नुभयो ‘तालिममा गएर के सिकियो ?’ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी सदस्यले भन्नुभयो ‘हामीलाई सुरक्षित खानेपानीको बिषयमा केही जानकारी नै थिएन। आँखाले सफा देखे पछि त्यसैलाई सफा र शुद्ध खानेपानी हो भन्ठान्थ्यौं।’ उहाँले तालिममा पानीमा हुने जैविक तथा रासायनिक प्रदुषणका बिषयमा थाहा पाएको र तालिम बाट फर्केपछि आफ्नो उपभोक्ता समितिमा पनि खानेपानी सुरक्षा टोली गठन गरिएको जानकारी गराउनुभयो।


खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठलाई भने अवलोकन अध्ययन भ्रमणमा के कुरा थाहा पाउनुभयो भनेर प्रश्न सोध्नु भएको थियो। अध्यक्ष श्रेष्ठले देवचुली र लेखनाथको खानेपानी अवलोकन गरेपछि खानेपानी आयोजनालाई दिगो बनाउने तरिका, उपभोक्ता समितिले खानेपानी आयोजना सञ्चालनका विधि र मुख्य कुरा आर्थिक स्रोत कसरी जुटाउने र दिगो बनाउने भन्ने पक्ष सिकाई रहेको बताउनुभयो।


खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवाला विश्लेषण

लेले खानेपानी तथा सरसफाइ आयोजनाको स्थलगत अध्ययन गरेर फर्केपछि शनिबार नै खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवालाहरुको विश्लेषण गरिएको छ। खानेपानी र सरसफाइ क्षेत्रका सरोकारवालाहरु र ती सरोकारवालासँग कसरी काम गर्नुपर्छ भन्ने सन्दर्भमा गोदावरी प्राबल्य वास परियोजनाका प्रमुख आनन्द गौतमले जानकारी गराउनुभयो।


उहाँले संघीय तथा प्रादेशिक तहमा भएका मन्त्रालय तथा विभागहरु र ती निकायसँग खानेपानी तथा सरसफाइ सँग सम्बन्धित काम गर्नुपर्दा अपनाउनुपर्ने प्रक्रिया तथा तिनीहरुको भूमिकाका बिषयमा समेत जानकारी गराउनुभयो।

गौतमले गोदावरी नगरपालिकाको सन्दर्भमा वास युनिट स्थापना गरी खानेपानी तथा सरसफाइका गतिविधिहरु सञ्चालन गर्नका लागि कार्यविधि पनि निर्माण भईसकेको जानकारी गराउनुभयो।


दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्न काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको स्वीकृति लिनुपर्ने, प्रशोधन केन्द्र निर्माण गर्नका लागि बोर्डले लगानी गर्न सक्ने बिषयमा पनि जानकारी गराउनुभयो।

उहाँले नेपालमा आधारभूत खानेपानी तथा सरसफाइ प्राप्त गर्ने जनसंख्या उच्च रहे पनि खानेपानीका प्रणालीहरु करिब ३७ प्रतिशत मात्र पूर्ण रुपमा सञ्चालन भईरहेको, सुरक्षित खानेपानी उपभोग गर्ने जनसंख्या एकदमै न्यून रहेको र अबको दिनमा सुरक्षित खानेपानीकै क्षेत्रमा काम गर्नुपर्ने दायित्व रहेको बताउनुभयो।

उहाँले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको क्षमता विकास नगराएसम्म नागरिकले स्वच्छ पानी पिउन पाउँछन् भन्ने कल्पना गर्न नसकिने र यसैका लागि गोदावरी खानेपानी सञ्चालक साझेदार सञ्जाल गठन गरिएको बताउनुभयो।


गोदावरी खानेपानी सञ्चालक साझेदारले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको खास खास आवश्यकता पहिचान गर्ने, उनीहरुको क्षमता अभिवृद्धि गरी खानेपानीको गुणस्तर कायम गर्ने, नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता हेर्ने शाखासँग नजिकको सम्बन्ध स्थापित गरी खानेपानी र सरसफाइ उपभोक्ता समितिहरु बीच समन्वय र सहकार्य गर्ने र खानेपानी र सरसफाइ अधिकारलाई सुनिश्चित गर्न नगरपालिकालाई सहयोग गर्ने बताउनुभयो।

शनिबार नै स्थानीय तहमा योजना तर्जुमा प्रक्रियाका चरणहरुका बारेमा नगरपालिकाको योजना शाखाका देबेन्द्र प्रसाद श्रेष्ठले प्रस्तुतीकरण गर्नुभयो । उहाँले योजना निर्माणका सात वटा चरणहरु र योजना छनौटका आधारहरुबारे प्रकाश पर्नुभयो ।


यस्तै स्थानीय तहले उठाउन पाउने राजश्वको सीमा, केन्द्र तथा प्रदेशबाट आउने अनुदानको प्रकार, ती अनुदान निर्धारणका मापदण्ड र खानेपानी तथा सरसफाइको स्थान लगायत बिषयमा पनि स्वीडीस टोलीलाई जानकारी गराउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार