ललितपुर : एक जना विदेशी, जो स्वीडेनमा बस्नुहुन्छ। र पनि नेपालको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थालाई नजिकबाट नियालिरहनु भएको छ । स्वीडेनकी नागरिक Elin Backman नेपालको सप्ताहव्यापी भ्रमणमा हुनुहुन्छ ।
स्वीडेन बसेर पनि गोदावरी खोला क्षेत्र सरसफाइ अभियानबारे अपडेट राख्नु हुने एलिन र उहाँको टिमले गोदावरी खोला क्षेत्र सरसफाइ अभियन्ता र खानेपानी तथा सरसफाइ सँग सम्बन्धित अन्य सरोकारवालालाई भेट्नुभयो ।
उहाँले एक जना रीता नामको विद्यार्थीको कविताले मन छोएको प्रसंगबाट कुराकानीको सुरुवात गर्नुभयो । स्वीडेनमा बस्ने मानिसको मन नेपालको एक जना बालिकाले लेखेको कविताले कसरी छोयो होला ?
भएको के रहेछ भने, करिब एक बर्ष अगाडि गोदावरी प्राबल्य वास परियोजनाले पानी र सरसफाइको बिषयमा कविता प्रतियोगिता आयोजना गरिएको रहेछ । उक्त प्रतियोगितामा प्रथम भएको कविता ग्लोबल वाटर अपरेटर पार्टनरसिप एलायन्सले प्रकाशन गर्ने न्यूजलेटरमा समेत प्रकाशित भएको रहेछ । करिब विश्वभरि नै सञ्जाल रहेको उक्त संस्थाको न्यूज लेटरमा प्रकाशित नेपालको एक जना छात्राले लेखेको कविताले उहाँको मन छोएको रहेछ ।
उक्त कुरा उहाँले गोदावरीमा आयोजना गरिएको छलफल तथा अन्तरक्रियामा व्यक्त गर्नुभयो । ‘खानेपानीको प्रदुषण नगरौं र यसलाई सफा राख्न हामी सबै सचेत होऔं र सचेत गराऔ’ भन्ने कविताको मुख्य भाव थियो।
‘पानी जीवन हो, जीवन पानी हो । जसरी मेरो जीवन र पानीको अस्तित्व छ र जसले यसको संरक्षण गर्छ, त्यो भनेको नै म हुँ’ एलिनलाई यही कुराले बढी मन छोएको रहेछ ।
‘एक जना सानी नेपाली बहिनीले लेखेको कविताको लाइनले पर टाढा स्वीडेनको मान्छे मलाई चाहिं छोयो किनकि मैले पनि सानै देखि के प्रतिबद्धता गरेको थिएँ भने दिनमा एउटा मात्र फोहोर टिप्न सक्यौं भने पनि धेरै सफा हुन्छ, बहिनीको कवितामा पनि त्यही भाव पाएँ ।’
‘हरेक यात्राको थालनी एउटा पाइलाबाट हुन्छ र हरेक अभियानहरु, हरेक परिवर्तनहरु एउटा मस्तिष्कबाट हुन्छ, तर त्यसको थालनी जरुरी हुन्छ । त्यसैले हामीले चाहिं नदीलाई अब थप फोहोर गर्न नदिऔं । समस्या भैरहेको छ भने समाधानको बाटो समात्नुपर्छ’ उहाँले भन्नुभयो।
स्वीडेनमा थुप्रै सफा स्वच्छ नदीहरु रहेको उल्लेख गर्दै उहाँले अथकौंको प्रयासपछि मात्रै त्यो सफा र स्वच्छ बनाउन सम्भव भएको बताउनुभयो ।
‘हामीले किन नदी सरसफाइमै जोड दिने त ?’ उहाँले भन्नुभयो ‘हामीले नगरिकन यत्तिकै अगाडि बढ्यौं भने अरुले त हामीले जे गरेका छौं अथवा जे गरिरहेका छैनौं, त्यसैको सिको गर्छन् । आगामी पुस्ताले पनि त्यही सिक्दै जान्छन् । तर साँच्चिकै हामीले यसमा लागि प¥यौं भने हाम्रो पुस्ता सँगसँगै आगामी पुस्ताले पनि सिक्छन् । र अन्तरदेशीय स्तरमा र अन्य समुदायले पनि यसैलाई पालना गर्छन्।’
छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले गोदावरीका महिलाहरुको नेतृत्वमा सञ्चालन भैरहेको खोला सफाइ अभियानको उच्च प्रशंसा गर्नुभयो । ‘गोदावरीमा नदि सफाइको जुन अभियान छ । यो कुरा देख्न पाउँदा मलाई एकदम खुसी लागेको छ यहाँका समुदायका महिलाहरु मेरो नजरमा ‘हिरो’ हुनुहुन्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
छलफल तथा अन्तरक्रिया कार्यक्रममा गोदावरी खोला सफाइ अभियानकी संयोजक बेबी राजभण्डारीले खोला क्षेत्र सफाइ अभियानको उपलब्धी र हाल भोगिरहेको समस्याबारे जानकारी गराउनुभयो ।
यस्तै ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले पानीको स्रोतहरुमा भैरहेको अतिक्रमण र स्रोत संरक्षणका लागि अपनाउनुपर्ने उपायहरुको बारेमा जानकारी गराउनुभयो।
कार्यक्रमका सहभागीहरुले खोला क्षेत्र सरसफाइ सँगै खानेपानीको मुहान क्षेत्रको पनि सरसफाइ तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । गोदावरी क्षेत्रमा दैनिक सयौं पर्यटकहरु आउने र उनीहरुले गर्ने गतिविधिका कारण पानीका मुहानहरु प्रदुषित हुँदै गएकाले यसतर्फ सचेत हुनुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाकाको वडा नं. ३ का अध्यक्ष राज घिमिरेले वडा कार्यालयले गर्न सकिने कामहरुमा सदैव तत्पर रहेको र कतिपय नीतिगत बिषयहरु कार्यपालिका बैठकमा जानकारी गराउने बताउनुभयो ।
कार्यक्रममा स्वीडेनको खानेपानी वितरण प्रणाली, सरसफाइ र स्वच्छता सेवा सम्बन्धी पनि सहभागीले जानकारी हासिल गरेका छन् ।
कार्यक्रमका मुख्य वक्ता समेत रहेका भ्याकिनका प्रोजेक्ट म्यानेजर एवं कम्युनिकेसन अफिसर Elin Backman ले गोदावरी खोला क्षेत्र सरसफाइ अभियानलाई जारी राख्न र थप प्रदुषण हुनबाट रोक्न पनि आग्रह गर्नुभयो । उहाँले अर्को पटकको भ्रमणमा खोला क्षेत्रको सुन्दरता अझ बढेको देख्न पाऊँ भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण गोदावरी प्राबल्य वास परियोजनाका प्रमुख आनन्द गौतमले गर्नुभयो ।
वाटर एड नेपाल, भ्याकिन र गोदावरी नगरपालिकाको साझेदारीमा विगत १५ महिनादेखि ‘गोदावरी प्रावल्य वास परियोजना’ सञ्चालन भैरहेको छ । भ्याकिनले यस परियोजनामा आर्थिक एवं प्राविधिक सहयोग पुर्याउँदै आएको छ।