अनुगमन प्रणालीलाई व्यवस्थित गर्दै स्थानीय तहहरु

  वास खबर सम्वाददाता  489 पटक हेरिएको

सुनसरी : संघीय मार्गदर्शन अनुसार स्थानीय तहमा रहेका अनुगमन समितिहरुले वार्षिक अनुगमन योजना तयार गरी कार्यपालिकाबाट पारित गराएर मात्र अनुगमन प्रक्रिया थालनी गर्नुपर्ने हुन्छ । यसैगरी अनुगमन समितिहरुले द्वैमासिक रुपमा अनुगमन प्रतिवेदन तयार गरी कार्यपालिकामा छलफलका लागि पेश गर्नुपर्छ । अनुगमन नतिजामुखी र सूचकमा आधारित हुनुपर्छ ।

तर, स्थानीय तहहरुमा यस अभ्यास संस्थागत हुन सकेको छैन । “हामीले अनुगमन त गरिरहेका छौं, तर मार्गदर्शनमा उल्लेख भए अनुसार अभ्यास सुरु हुन सकेको थिएन”, दुहवी नगरपालिका उपप्रमुख एवम् अनुगमन समिति संयोजक मेनुका पोखरेल खतिवडा भन्नुहुन्छ, “अहिले बल्ल सबै तहका अनुगमन समितिहरुको योजना तयार गरी कार्यान्वयनमा ल्याउने प्रयास गरेका छौं ।”


“हामीले ६ वर्षसम्म व्यवस्थित रुपमा विस्तृत कार्ययोजना तयार गर्न र त्यसको अनुगमन योजना तयार गरी कार्यान्वयन गर्न चुकेका रैछौं”, नगर उपप्रमुख पोखरेलको भनाइ छ, “प्रायशः भौतिक पूर्वाधार आयोजनाको विस्तृत योजना तयार गर्ने अभ्यास भए पनि वार्षिक विकास योजनाका सबै क्रियाकलापको विस्तृत एकीकृत कार्यान्वयन योजना तयार गर्ने अभ्यास थिएन ।”


यसैगरी, अनुगमन समेत आयोजनाको फर्छ्यौट तथा फरफारकमा बढी केन्द्रित हुने गरेको र अनुगमनको समेत वार्षिक योजना तयार गर्ने अभ्यास नभएको बताउनुहुन्छ, रामधुनी नगर उपप्रमुख तारा थापा । “अब हामीले पनि यसै वर्षदेखि नै वार्षिक अनुगमन योजना तयार गरी सूचकमा आधारित नतिजामुखी अनुगमन सुरु गर्ने योजना बनाएका छौं”, उपप्रमुख थारुको भनाइ छ ।


खानेपानी, सरसफाइ तथा स्वच्छतामा दिगो विकास लक्ष्य कार्यक्रम सञ्चालन भएका स्थानीय तहमा रहेका अनुगमन समितिका पदाधिकारी र सदस्यहरुका लागि वास एसडिजी परियोजना अन्तर्गत नतिजामुखी अनुगमन सम्बन्धी तालिम सञ्चालन गर्नुका साथै नतिजामुखी अनुगमन योजना तयारीको अभ्यास समेत भैसकेको छ ।

अनुगमनका लागि मार्गदर्शन तयारी

अनुगमन समितिका संयोजक तथा सदस्यहरुका लागि आयोजना गरिएको क्षमता विकास कार्यशालाले निकालेको निस्कर्ष बमोजिम कार्यपालिकाले स्वीकृति दिए पश्चात् सूचकमा आधारित अनुगमन मार्गदर्शन तयार गरिएको छ ।

“अहिले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको अनुगमनका लागि बहुसूचकमा आधारित नतिजामुखी अनुगमन मार्गदर्शन तयार गरी कार्यान्वयनमा ल्याइएको छ”, बराहक्षेत्र नगरपापलिकाका नगर उपप्रमुख नन्दकुमारी सुनुवार भन्नुहुन्छ, “यसपछि अन्य अनुगमन समेत यसैगरी सूचकमा आधारित भएर गर्ने गरी तयारी गरिरहेका छौं ।”


पहिलो चरणमा बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिका, बर्जू गाउँपालिका र गढी गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छताको अनुगमनका लागि सूचकमा आधारित नतिजामुखी अनुगमन मार्गदर्शन तयार गरेका छन् ।

“पूर्ण सरसफाइ मार्गदर्शन २०७३ मा आधारित भई खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचकहरुमा उपसूचक समेत निर्धारण गरिएको छ”, वास एसडिजी परियोजनाका जेण्डर, अनुगमन तथा मूल्यांकन अधिकृत अजेन्द्र कुमार दास भन्नुहुन्छ, “सबै सूचकहरुको अंकभार समेत निर्धारण गरिएको छ ।”

अनुगमन मार्गदर्शनमा के छ ?

अनुगमन मार्गदर्शन तयार गर्दा दिगो विकास लक्ष्य र पालिकाले तयार गरेको वास प्लानले समावेश गरेका क्षेत्रलाई आधार मानिएको बताउनुहुन्छ सामुदायिक समाज उत्थान केन्द्रको वास एसडिजी परियोजना संयोजक हरि बुढाथोकी ।

“घरायसी तहको खानेपानी, सरसफाइ तथा स्वच्छताको अनुगमन, विद्यालय खानेपानी तथा सरसफाइ र स्वच्छताको अनुगमन, स्वास्थ्य संस्थाको अनुगमन, सार्वजनिक स्थलको अनुगमन, महिनावारी स्वच्छताको अनुगमन र खानेपानी प्रणालीको अनुगमनका लागि सूचक र उपसूचक निर्धारण गरिएका छन्”, उहाँको भनाइ छ, “सबै अनुगमन बहुसूचकमा आधारित छन्, तर सबैमा अंकभार दिइएको छैन ।”

नतिजामुखी अनुगमनलाई व्यवस्थित बनाउनका लागि निरन्तर अनुगमनको अवधारणालाई समेत अनुगमन मार्गदर्शनमा समावेश गरिएको छ ।

“विभिन्न तहको अनुगमनका लागि अलग अलग अनुगमन समितिलाई जिम्मेवारी दिइएको छ”, गढी गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह भन्नुहुन्छ, “निरन्तर अनुगमन सम्बन्धित समितिहरुले गर्छन् भने प्रमाणीकरण अनुगमन एक तह माथिल्लो समितिले गर्ने प्रावधान राखिएको छ ।”


खानेपानी, सरसफाइ तथा स्वच्छताको निरन्तर अनुगमनका लागि पालिकाले हालैमात्र तयार गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि र खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन मार्गदर्शन समेत सहयोगी हुने विश्वास व्यक्त गर्नुहुन्छ बर्जू गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक नितु कुमारी चौधरी ।

“हामीले यस वर्षदेखि वार्षिक विकास योजनामा समावेश भएका कार्यक्रमको नतिजामुखी अनुगमनका लागि वार्षिक अनुगमन योजना तयारी गरिरहेका छौं”, चौधरीको भनाइ छ, “यस अनुगमन मार्गदर्शनले गाउँपालिकाको समग्र अनुगमन कार्यलाई व्यवस्थित गर्नका लागि सहयोगी बन्ने विश्वास लिएका छौं ।”

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार