महालक्ष्मी नगरपालिका अन्य नगरपालिकाका लागि समेत सिकाईयोग्य बन्दै, वालिङ र महालक्ष्मी बीच सिकाई आदानप्रदान

  वास खबर सम्वाददाता  675 पटक हेरिएको

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले सरसफाइको क्षेत्रमा गरिरहेको काम अन्य नगरपालिकाका लागि समेत सिकाईयोग्य बन्दै गएको छ। महालक्ष्मी नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनका लागि घरको नक्सा पासदेखि नै थालनी गरिएको असल पद्धति अन्य स्थानीय तहको लागि समेत अबलम्बन योग्य बनेको हो। नगरपालिकाको यिनै असल अभ्यास र सिकाई आदानप्रदान गर्ने हेतुले वालिङ नगरपालिका स्याङजा र महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि बीच सिकाई आदानप्रदान कार्यक्रम गरिएको छ।

दुवै नगरपालिका बीच भएको असल अभ्यास तथा सिकाइ आदानप्रदान कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरि गोविन्द श्रेष्ठले फलानोले टिकटै पाउँदैनन्, टिकट पायो भने जित्दैनन्, जितिहालेमा कामै गर्दैनन् भन्दै चुनावका बेला विपक्षीले लगाएको आरोपले सधैं काम गर्न घच्घचाइरहने बताउनुभयो।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को संयोजनमा महालक्ष्मी नगरपालिका ललितपुर र वालिङ नगरपालिका, स्याङजाका जनप्रतिनिधि बीच भएको असल अभ्यास तथा सिकाइ आदानप्रदान कार्यक्रममा बोल्दै वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाँणले बोल्नका लागि नभएर गर्नका लागि आफू मेयर भएको भन्दै महालक्ष्मी नगरपालिकाले गरेको राम्रो काम सिक्न आफू सहित जनप्रतिनिधि र कर्मचारीको टिम आएको बताउनुभयो । वालिङमा गरिएको राम्रो कामको बारे जानकारी दिनुका साथै महालक्ष्मीमा भएको राम्रो काम सिक्नको लागि जम्बो टिम लिएर आएको उहाँले बताउनुभयो।

विकास नगरी नहुने पालिका सुधारको हुटहुटी सबै जनप्रतिनिधिलाई हुने भन्दै पालिका समृद्धि हुनका लागि स्थानीय र कर्मचारीको सहयोग अनिवार्य आवश्यकता रहेको महालक्ष्मी नगरपालिकाका नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

दिसाजन्य लेदो व्यवस्थापनका लागि डिपिआर, लोकेशन र करिब ११ करोड अनुदानको बजेट व्यवस्था हुँदा समेत स्थानीयलाई यसको फाइदा बारे बुझाउन नसक्दा समस्या भएको विगतको अनुभव बाँड्दै जनप्रतिनिधि सफल हुन सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

वालिङ नगरपालिकामा नगरप्रमुख खाँणले स्थानीय तहको विकास हुनका लागि भित्र जतिवटा केस्रा भए पनि बाहिर सुन्तलाको पोटिलो दाना देखिए जस्तै एक हुनुपर्ने बताउँदै जनप्रतिनिधि जित्ने एउटा पार्टीको भए पनि अरु राजनीतिक दलले र स्थानीयसँगै कर्मचारीको पूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो ।

दुवै नगरपालिकाका नगर उपप्रमुखले आ(आफ्नो पालिकामा भएको असल अभ्यास तथा नीति र विकास विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो। वालिङ नगरपालिकाकी उपप्रमुख कविता गैरेका अनुसार काम गर्नकै लागि आफू निर्वाचित भए पनि सीमित स्रोत साधनभित्र रहेर काम गर्नुपर्ने बाध्यता छ । सीमित स्रोत साधन भए पनि जनताका आधारभूत आवश्यकताको क्षेत्रमा राम्रो काम गरेको उहाँको भनाइ थियो।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले वालिङका जनप्रतिनिधिलाई स्वागत गर्दै यहाँको संस्कृतिक तथा पर्यटकीय महत्त्वको बारेमा जानकारी गराउनुभयो। दुवै नगरपालिकाले गरेको राम्रो काम आदानप्रदानले आगामी वर्षमा गरिने विकासको काममा इटाको काम गर्ने उहाँले बताउनुभयो। उहाँले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले महालक्ष्मीमा लामो समयदेखि काम गरिरहेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो।

ललितपुरको महालक्ष्मी नगरपालिकाले भौगोलिक सूचना प्रणाली Geographic information system (GIS) मा आधारित सरसफाइ एपको प्रयोग गर्दै आएको छ । यही एपको माध्यमबाट महालक्ष्मी नगरपालिका क्षेत्रभित्रको हरेक घरको शौचालय र सेप्टिक ट्याङ्कीको स्थिति, ढल प्रणालीमा जडान गरिएको घरपरिवारको स्थिति अवगत हुन्छ । हरेक घरको सरसफाइ सम्बन्धी विवरण घर निर्माणको चरणदेखि नै समावेश गरिएको हुन्छ ।

नगरपालिकाको सरसफाइका तथ्याङ्कहरु आईएमआईएस (IMIS) जिआईएस (GIS) बेसमा राखिएको छ। जसले रियल टाईम डाटा उपलब्ध गराईरहेको हुन्छ। घरको नक्सा पास भएपछि सर्जिमिन मुचुल्का संकलनका लागि गएको प्राविधिकले नै सम्बन्धित ठाउँमै बसेर फोटो सहितका विवरणहरु भर्न सकिन्छ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले खानेपानी र सरसफाइ क्षेत्रमा समन्वय गर्दै आएको एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

एन्फोले नेपालको स्थानीय तहमा गरेको सरसफाइ र दिसाजन्य लेदो व्यवस्थापनको असल अभ्यासको बारेमा बुझ्न बंगलादेशका केही नगरपालिकाका जनप्रतिनिधिहरू आउन लागेको उहाँको भनाइ छ । उहाँका अनुसार विशेष गरेर बंगलादेशका ती टोलीले महालक्ष्मी नगरपालिका-८ लुभुको दिसाजन्य लेदो व्यवस्थापन केन्द्रको अध्ययन गर्नेछन् ।

शहरीकरणका कारण दुवै नगरपालिकामा स्ट्याण्डर्ड सेफ्टी ट्याङ्कीको समस्या रहेको हुँदा त्यस लगायत सरसफाइको क्षेत्रमा एन्फोले सहयोग गर्दै आएको उहाँले बताउनुभयो।

महालक्ष्मी नगरपालिकाको निमन्त्रणा तथा एन्फोको सहकार्यमा वालिङ नगरपालिकाका नगरप्रमुख खाँण, उपप्रमुख गैरे र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा सहित २६ जना आज महालक्ष्मी नगरपालिका असल अभ्यास आदानप्रदानका लागि आएका हुन् ।

वालिङ नगरपालिकाको सो टोलीमा वडा नम्बर १ का अध्यक्ष पदमराज गुरुङ, वडा नम्बर २ का अध्यक्ष पोतप्रसाद सम्साल, वडा नम्बर ५ का अध्यक्ष छबिलाल आले, वडा नम्बर ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष दामोदर तिवारी लगायतका जनप्रतिनिधि र कमर्चारी सहभागी छन् ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले खानेपानी तथा सरसफाइको क्षेत्रमा ललितपुरको महालक्ष्मी नगरपालिकामा विगत साढे २ दशकदेखि काम गर्दै आएको छ भने वालिङ नगरपालिका स्याङजामा ५ वर्षदेखि काम गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार