सोलुदुधकुण्डकी सरसफाइ अभियन्ता श्रेष्ठ सम्मानित

  वास खबर सम्वाददाता  700 पटक हेरिएको

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाकी सरसफाइ तथा वातावरण शाखा प्रमुख मुना खत्री श्रेष्ठ सम्मानित हुनु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको सरसफाइ तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत श्रेष्ठलाई दोर्पू नेवार समाजको २७ औं साधारण सभाको अवसरमा समाजले सम्मान गरेको हो ।

श्रेष्ठलाई दोर्पू नेवार समाजको साधारण सभाका प्रमुख अतिथि भलाकाजी राजभण्डारी र अध्यक्ष बुद्धि नारायण श्रेष्ठले सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

‘सरसफाइ र वातावरण संरक्षणका साथमा समाज सेवामा समर्पित रही तपाईले समुदायमा गर्नुभएको अथक मेहनत र कठिन परिश्रमको हामी प्रशंसा गर्दछौं’ सम्मान पत्रमा भनिएको छ ।


सरसफाइ, वातावरण संरक्षण र समाज सेवामा धेरैको ध्यान नगइरहेको अवस्थामा सोलुदुधकुण्ड नगरपालिकालाई सफा, सुन्दर, स्वच्छ बनाउन श्रेष्ठले खेल्नु भएको भूमिका, आँट र हिम्मतको सम्मान गर्नु पर्ने समाजको ठहर छ ।

सभामा समाजका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले सरसफाइ अभियन्ताको रुपमा सम्मानित व्यक्ति मुना श्रेष्ठले उदाहरणीय काम गरेको र वहाँलाई साथ सहयोग गर्न सके सोलुदुधकुण्ड नगरपालिकाले सरसफाइ र वातावरण संरक्षणको क्षेत्रमा नमुना काम गर्न सक्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले सफा र स्वच्छ सोलुदुधकुण्ड नगरपालिका निर्माणका लागि सरसफाइको क्षेत्रमा साथ दिन सबैलाई आग्रह समेत गर्नुभयो।

सम्मानित श्रेष्ठ सोलुदुधकुण्ड नगरपालिकाको सरसफाइ क्षेत्रमा २०७४ साल देखि सक्रिय हुनुहुन्छ। ‘आफ्नो घर टोल, बजार, वडा, नगर सधैं सफा र सुन्दर राख्न सहयोग गर्न म सबैलाई अनुरोध गर्दछु’ उहाँले भन्नुभयो।

स्थानीय समुदायको जनचेतना अभिवृद्धिका साथमा नगरको फोहोर व्यवस्थापनमा सदा चिन्तित रहने श्रेष्ठले दोर्पू नेवार समाजले गरेको सम्मानले आफूलाई थप उत्प्रेरणा मिलेको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार