पोखरा : नेपाल खानेपानी संस्थान पोखराले पानीको चुहावट (लिकेज) पत्ता लगाउने र मर्मत गर्ने तालिमलाई निरन्तरता दिएको छ । जापान सरकार,जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले शाखामा कार्यरत कर्मचारीलाई निरन्तर तालिम प्रदान गरेको हो।
मंगलबारको तालिमका मुख्य प्रशिक्षक नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले तालिमबाट सिकेको सीपलाई फिल्डमा सदुपयोग गर्न सहभागी कर्मचारीलाई निर्देशन दिनुभयो।
पोखराको भूवनोट र पानीको पाईपलाईन विस्तार जमीन भित्र हुने भएकाले पानी लिक हुँदा पत्ता लगाउन लाग्ने धेरै समय अव उपकरण सहितको टोलीलाई सहज भएको प्रमुख कार्कीको भनाई थियो ।
कार्यालय प्रमुख कार्कीले लिसनिङ स्टिक, वाटर लिंक डिटेक्टर र कोरिलेटर टाइप वाटर लिंक डिटेक्टर प्रविधिको माध्यमबाट ग्राउन्ड वाटर लिंक पत्ता लगाउन सहज हुने बताउनुभयो । प्रमुख कार्कीले प्रविधियुक्त मेशिनको माध्यमबाट लिक मर्मत कार्यलाई थप सजिलो बनाउने भएकाले हालको अवस्थाको पानी चुहावटलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।
तालिमलाई सव–इन्जिनियर सुरेन्द्र साहले सहजीकरण गर्नुभएको थियो भने पोखरा शाखा पार्दी र विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।
तालिममा पोखरा शाखामा कार्यरत कर्मचारी लक्ष्मण पराजुली, बेदप्रसाद शर्मा, ज्ञानु अधिकारी, अशोक सापकोटा, माधव केसी, हिर थापा, मोहन केसी, शिव पौडेल, बिनोद नेपाली, लिलानाथ गौतम, सूर्य अधिकारी, लक्ष्मण श्रेष्ठ लगायत कर्मचारीको सहभागिता रहेको नेपाल खानेपानी संस्थान पोखरा शाखाले जनाएको छ ।
तालिमले पोखरा शाखा अन्तर्गत विस्तार भएको पाईप लाईनमा भएको र हुने लिक तथा पानी चुहावटलाई प्रभावकारी मर्मत गर्न थप टेवा पुग्ने तालिममा सहभागीले जनाएका छन् ।
तालिममा पानी परीक्षण तालिम समेत भएको छ । संस्थानले उत्पादन गरेको पानी ल्यावमा निरन्तर परीक्षण गरिने जनाएको छ । पानी परीक्षण तालिममा सहभागी कर्मचारी ज्ञानु अधिकारीले पानीको धमिलो पाना, पिएच, पानीको वहाव क्षमता तथा पिउन योग्य सहज तरिकाले पत्ता लगाउने ज्ञान भएपनि प्राक्टिकल्ली हुँदा आफूलाई राम्रो लागेको बताईन् । उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्न संस्थानले निरन्तर प्रयास गरिरहेको छ ।