ढुङगे धाराको निकास थुन्नेलाई महानगरले तिरायो २ लाख जरिवाना

जरिवानाबाट उठेको रकमले ढुङगेधाराको पुनरुत्थान

  वास खबर सम्बादाता  386 पटक हेरिएको

काठमाडौ : नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) को निकास थुन्नेलाई काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना तिराएको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा तीनवटा घरले निकास थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिनुभयो।

‘पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको भेटियो’ उहाँले भन्नुभयो।

उहाँका अनुसार जरिवानाबाट उठेको रकमले ढुङगेधाराको पुनरुत्थानकाे काम सुरु भएको छ । अहिले पानीको निकास खोलिएको छ ।

हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ३ वटा मुख्य समस्या महानगरले पहिचान गरेको थियो ।

वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको कामले ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ ।

जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको नगर प्रमुखका सचिवालय सदस्य विनय शाक्यले बताउनुभयो।

निकास खोलिएकाले अब मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने उहाँको भनाइ छ ।

धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख गरिएको छ ।

यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ।’

उक्त दस्तावेजमा सुझाव दिँदै भनिएको छ ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार