
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाले खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । ज्वालामूखी गाउँपालिका, अक्सफाम र फोकस नेपालको आर्थिक सहयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक सहयोगमा ज्वालामूखी ग्रामीण खानेपानी तथा सरसफाइ स्वच्छता व्यवस्थापन बोर्डको कार्यालयमा प्रयोशाला कक्ष स्थापना गरिएको हो।
प्रयोगशालाको ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बुधबार उदघाटन गर्नुभयो।

दिगो विकास लक्ष्य ६ हासिल गर्नको लागि ज्वालामूखी गाउँपालिकामा खानेपानी सँगै सरसफाइका गतिविधिहरु सञ्चालन भैरहेका छन् । गाउँपालिकाले २०८२ भित्रमा एक घर एक मिटर सहितको धारा निर्माण गरी सुरक्षित खानेपानीको उपलव्ध गराई पूर्ण सरसफाइ अन्र्तगत सफा तथा स्वच्छ गाउँ घोषणाको अभियान अनुरुप तिव्र रुपमा कार्यान्वयन भइ रहेको छ ।
गाउँपालिकामा धेरै जसो छरिएर रहेका वस्तीहरु र त्यसमाथि खानेपानीको मुहान भन्दा माथि वस्तीहरु रहेका कारण धेरैजसो पानीहरु लिफ्ट माध्यमवाट सञ्चालन गर्नुपरेको वाध्यात्मक अवस्था रहेको बोर्डका प्रबन्धक सबिना रेग्मी (छत्कुली) ले बताउनुभयो। जसको कारण धेरै जसो मुहानहरु असुरक्षित र प्रदुषित रहेका छन् । विगतका वर्ष देखि नै सरसफाइका गतिविधिहरु संचालनमा रहेकाले नागरिकहरुको आनीवानी सुधारको लागि सचेतनामूलक कार्यक्रमहरु संचालन गरी सुरक्षित खानेपानी प्रति नागरिकहरुलाइ सुसुचित गराउर्दै आएको उहाँले बताउनुभयो।

खानेपानी परिक्षण गर्नको लागि सदरमुकाम सम्म धाउनुपर्ने र आर्थिक लगायत अन्य विविध समस्याको कारण समयमा पानी परिक्षण गराउन ज्यादै ठुलो समस्या भोग्नु परेको कारण पनि आफ्नै गाउँपालिका भित्र खानेपानी ल्याव स्थापना गरिएको हो । यो संगै आगामी समयमा आवश्यकता अनुसार खानेपानीहरुको परिक्षण गरी एनवासमा रिपोर्ट अपडेट गर्दै लगिने बोर्डको योजना छ।
प्रयोगशालाको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष यामनाथ दनैले गाउँपालिका भित्र खानेपानी र सरसफाइ सेवालाइ एकद्धार प्रणालीवाट संचालन गरी खानेपानीको सेवालाइ थप व्यवस्थित, प्रविधियुक्त, नियमित र दिगोरुपमा गुणस्तरयुक्त सेवा मार्फत पालिकाका आम नागरिकहरुलाइ सर्वसुलभ, पर्याप्त र सुरक्षित पानी पिउन पाउने संविधान प्रदत्त मौलिक हकको प्रत्याभूति गराउने उद्देश्यले बोर्ड मोडलवाट सेवा सञ्चालन गरिएको र खानेपानी र सरसफाइको क्षेत्रमा सवै निकायहरुसँग समन्वय र सहकार्य गर्दै सेवालाई थप सुदृढिकरण गर्दै लगिने वताउनुभयो ।

उहाँले आम नागरिकलाइ सुरक्षित पानी पिउन पाउने संविधान प्रदत्त मौलिक हकको प्रत्याभूतिको लागि, दिगो विकास लक्ष्य ६.१ अनुसार समतामूलक सुरक्षित खानेपानीको पहु‘च पुर्याउने लक्ष्य हासिल गर्नका लागि ल्याब स्थापना गर्नु परेको बताउनुभयो। ‘हाम्रो भुगोलको ३७ वटा खानेपानीको परिक्षण गर्दा ३६ वटा मुलको पानीमा (रासायनिक तथा भौतिक प्रदुषण कम भएता पनि) इकोली र कोलिफर्म धेरै देखिएकाले पनि समय समयमा परिक्षण गर्नुपर्ने आवश्यकता रहेको छ’ उहाँले भन्नुभयो।
अध्यक्ष दनैले भौगोलिक अवस्था अनुरुप वस्तीहरु भन्दा तल खानेपानीका मुहानहरु रहेको र धेरै जसो खानेपानी लिफ्ट गरेर खानुपर्ने वाध्यात्मक अवस्था रहेकाले पनि हरेक जसो मुहानको पानी प्रदुषित रहेको बताउनुभयो । सफा तथा स्वच्छ गाउँ अभियान सफलताको लागि पनि ल्याव संचालन गर्नु परेको उहाँको भनाइ थियो।
पानी शुद्धिकरणका लागि गाउँपालिकाको अभियान :
√ घरेलु स्तरमा पानी सुरक्षित बनाउनका लागि फिल्टर विधिको प्रयोगलाइ अभियानको रुपमा सञ्चालन गरिएको ।
√ कार्यालय तथा संघ संस्थाहरुमा मिनरल वाटरको बोतलको प्रयोगलाई कम गर्दै फिल्टर प्रयोगलाई बढावा दिदै आएको ।
√ स्रोत देखि नै पानी शुद्धिकरणका लागि संघीय सरकारको सहायतामा क्लोरिन डोजिङ यूनिट जडान कार्यको कार्यान्वयन चरणमा रहेको।
√ २०८२ साल भित्र एक घर एक मिटर सहितको धारा निर्माण र सफा तथा स्वच्छ गाउँ घोषणाको लक्ष्य पूरा गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको ।
प्रयोगशाला मार्फत धमिलोपना, हाइड्रोजन विभव, तापक्रम, फलाम, नाइट्रेड, क्लोराइड अवशेष, इकोली र कोलिफर्म गरी १२ वटा पारामितिहरु परिक्षण गरिनेछ ।
खानेपानी बोर्डमा हस्तान्तरण भइ आएका खानेपानी योजनाहरुको आवश्यकता अनुसार समय समयमा निशूल्क र अन्य आयोजना, व्यक्तिगत तथा सामुदायिक योजनाहरुको न्यूनतम शूल्क कायम गरी पालिका स्तरको खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला संचालन कार्यविधि निर्माण गरिएकाले सोही वमोजिम संचालन गरिने अध्यक्ष दनैले बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी प्रतिनिधि एवं अन्य वक्ताहरुले ग्रामीण भेगमा संचालनमा रहेको वोर्डलाइ निकै चुनौती र अवसर दुवै रहेकाले खानेपानी र सरसफाइ दुवैलाइ समान रुपमा लगिएमा कार्यक्रमले सार्थकता पाउने बताए ।

खानपानी ल्याव संचालन सँगै ज्वालामूखी गाउँपालिकाले ल्यावको रिपोर्टवाट देखिएको जोखिमलाइ न्यूनिकरण गरी आम नागरिकलाइ सुरक्षित खानेपानीको प्रत्याभूति गराउनको लागि घरेलु स्तरमा पानी शुद्धिकरण गर्ने विधि मध्ये फिल्टर विधिलाइ कार्यान्वयनमा ल्याइ घर घर मा फिल्टर सहयोग गर्दै आएको छ । गाउँपालिकाको कार्यालय तथा केही विद्यालय र संघ संस्थामा पनि फिल्टर जडान गरी सेवाग्राही सहितको लागि कार्यालय हातामा वायोस्याण्ड फिल्टर जडान गरिएको छ ।
आगामी वर्ष वडा कार्यालय लगायत सवै संघ संस्थामा फिल्टर प्रयोग गर्ने वातावरण तय गरिने बोर्डका प्रबन्धक सबिना रेग्मी (छत्कुली) ले बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक तथा प्राविधिक सहयोगमा पानीलाई स्रोत देखि नै सुद्धिकरण गर्नको लागि क्लोरिन डोजिङ यूनिट जडान कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यामनाथ दनैको अध्यक्षतामा भएको खानेपानी ल्याब उदघाटन कार्यक्रममा ज्वालामूखी गाउँपालिकाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका पार्टी प्रमुख एवं प्रतिनिधिहरु, फोकस नेपाल परियोजना संयोजक, पत्रकार महासंघ धादिङका अध्यक्ष, अन्य पत्रकार तथा रेडियोकर्मी, गाउँपालिका शाखाका प्रमुखहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, खानेपानी बोर्डका सदस्यहरु, खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं पदाधिकारीहरु, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतको उपस्थिति थियो।


667 पटक हेरिएको 

