कोशीको बजेट : खानेपानी, सिँचाई र उर्जाको लागि ४ अर्ब ७६ करोड

  वास खबर सम्वाददाता  370 पटक हेरिएको

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा खानेपानी, सिँचाई र उर्जा क्षेत्रको लागि ४ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ। कुल ३५ अर्ब २७ करोड ९३ लाखको बजेट बजेटमा खानेपानी, सिँचाई र उर्जा क्षेत्रको लागि ४ अर्ब ७६ करोड विनियोजन गरेको हो।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गर्नुभएको हो।

आगामी आर्थिक बर्षको बजेटमा प्रदेश सरकार, स्थानीय तह, उपभोक्ता र निजी क्षेत्रसँगको सहलगानीमा स्वच्छ खानेपानी आयोजना कार्यान्वयनका लागि वित्तीय सहयोग जुटाई प्रादेशिक खानेपानी विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तर्जुमा गर्ने बजेटमा उल्लेख छ ।

आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट प्रस्तुत गर्दै सार्वजनिक स्थानहरुमा प्रशोधित खानेपानी आपूर्तिको लागि वाटर एटिएम मेसिन÷फिल्टर प्लान जडानका लागि ३ करोड बजेट बिनियोजन गरेको बताउनुभयो।

यस्तै प्रदेश सरकारको लगानीमा निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिलाई हस्तान्त्तरण गरी सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुका उपभोक्ता समितिले कम्तीमा १० प्रतिशत विपन्न घरधुरीहरुलाई निशुल्क रुपमा धारा जडान गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

खानेपानी तथा सरसफाइ आयोजनाहरुको स्तरीकरण गरी “एक स्कीम एक आयोजना” अवधारणा अन्तर्गत आयोजनाहरुको लाभान्वित घरधुरी र लागत अनमुानका आधारमा हिमाली क्षेत्र (स्थानीय तहगत) मा ५० घरधुरी र ५० लाख, पहाडी र तराईका चुरे भावर क्षेत्रमा १०० घरधुरी र एक करोड, तथा तराई क्षेत्रमा ५०० घरधुरी तथा ५ करोडभन्त्दा कमका साना र प्राविधिक दृष्टिकोणले सरल प्रकृतिका आधारभूत स्तरका खानेपानी आयोजनाहरुको स्थानीय तहहरुमा सशर्त अनुदान सहित वित्तिय हस्तान्तरण गर्नका लागि ३ करोड २५ लाख रकम विनियोजन गरेको उल्लेख छ ।

विस्तृतमा हेर्नुहोस् कोशी प्रदेशको बजेट : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार