सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ‘खानेपानी तथा सरसफाइ : कर्णालीबासीको रोजाइ’ भन्ने नारा दिएर खानेपानी र सरसफाइका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
अन्य प्रदेशले खानेपानी, सिँचाई र उर्जा क्षेत्रका लागि एकमुष्ट बजेट विनियोजन गरेपनि कर्णाली प्रदेश सरकारले खानेपानी र सरसफाइ क्षेत्रका लागि अलग्गै बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारले खानेपानी र सरसफाइका लागि मात्र १ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सभाको दोस्रो कार्यकालको चौँथो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले कर्णालीबासीको आधारभूत खानेपानी सेवामा पहुँच सुनिश्चित गरी स्वच्छ, नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउनको लागि निर्माणाधीन बहुबर्षीय र क्रममागत आयोजनाहरुलाई उच्च प्राथमिकता दिई सम्पन्न गरिने बताउनुभयो।
यस्तै लामो समयदेखि सञ्चालनमा रहेका तर भूकम्प लगायत विपदका कारण अवरुद्ध भएका खानेपानी आयोजनाहरुको मर्मत सम्भार गरी नियमित सञ्चालन गर्ने र खानेपानी आपूर्तिको पहुँच भन्दा बाहिरका बस्तीहरुमा सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा क्रमशः आयोजना कार्यान्वयन गर्न आवश्यक रकम विनियोजन गरेको जानकारी गराउनुभयो।
विस्तृतमा हेर्नुहोस् बजेटको पूर्ण अंश: