चाँगुनारायणका विद्यालय र टोल समितिहरुलाई सरसफाइ सामग्री वितरण

  वास खबर सम्वाददाता  341 पटक हेरिएको

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नं. ३ भित्रका ६ वटा विद्यालय र १० वटा टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (टोल वास सीसी) हरुलाई सरसफाइ सामग्री वितरण गरिएको छ। विद्यालय र टोललाई सरसफाइयुक्त राख्न सघाउ पुगोस भन्ने उद्देश्यले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको लागि छुट्याइएको रकमबाट सरसफाइ सामग्री वितरण गरिएको वडा नं. ३ का वास सहजकर्ता कविता बुढाथोकीले जानकारी दिनुभयो ।

विद्यालयहरुको अनुगमन गर्ने क्रममा हात धुने साबुन समेत नभेटिएको र विद्यालयलाई सरसफाइयुक्त राख्न अति आवश्यक सामग्रीहरुको समेत अभाव पाईएकाले विद्यालयलाई सरसफाइ सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयहरुलाई ठूलो डस्टबिन २ वटा, सानो डस्टबिन ४ वटा, पानी राख्ने बाल्टिन २ वटा, माक्स २ प्याकेट, ग्लोब्स २ प्लाकेट, हारपिक २ वटा, ब्रस २ वटा, साबुन १५ वटा, तौलिया १ वटा, प्राथमिक उपचार किट १ वटा र फ्लेक्स ४ वटा वितरण गरिएको छ।

उक्त सरसफाइ सामग्री वडा नं. ३ का अध्यक्ष श्याम सुन्दर धिमालले विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (टोल वास सीसी) का पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभयो।

१० वटा टोल समितिको लागि ठेलागाढा १ वटा, साबेल २ वटा, कुटो ३ वटा, हँसिया २ वटा, खुर्पा १ वटा, खरेटो कुचो ५ वटा, फ्लेक्स ४ वटा र सार्वनिक स्थलका लागि २/२ वटा डस्टविन वितरण गरिएको वास सहजकर्ता बुढाथोकीले जानकारी दिनुभयो ।

उपलब्ध गराएका सरसफाइ सामग्रीहरुको प्रयोग गरी टोलको स्वच्छता कायम राख्न, मठ मन्दिर, टोल तथा समुदायको सरसफाइ राख्न मद्दत पुग्ने अपेक्षा गरिएको वास सहजकर्ता बुढाथोकीले जानकारी दिनुभयो।


चाँगुनारायण नगरपालिकाको सबै वडामा ‘पूर्ण सरसफाइ अभियान’ सञ्चालन भैरहेको छ । अभियान अन्तर्गत टोल वास सीसी, विद्यालय स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता समिति, बाल क्लवहरु, समुदाय तथा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार