खोला किनारको डम्पिङ साईटले पानी छुनै डराउँछन् स्थानीय

खेतबारीमा अस्पतालजन्य फोहोर थुप्रिएपछि किसान हैरान

  वास खबर सम्वाददाता  225 पटक हेरिएको

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ बुङचुङकी किसान ज्ञानु घलेले थोपल खोलाले माथिबाट बगाएर ल्याउने प्लाष्टिका बोतल, फुटेका सिसाको बोतल, अस्पतालबाट निस्केको सुई र पाइप सहितको स्लाइन टिप्दा बर्षेनी हैरानी खेप्नु परेको छ। नीलकण्ठ नगरपालिकाले थोपल खोला किनारमा डम्पिङ साइट बनाउनु अघिसम्म पशुचौंपायालाई खुवाउँदै आएको पानीमा हिजो आज छुन पनि डर लाग्ने उहाँले बताउनुभयो।

“केही वर्ष अघिसम्म गर्मीयाममा दिनभरि खेतबारीमा काम गरेर साँझ पख थोपल खोलाको पानीमा हात ,खुट्टा धुनुका साथै नुहाउने गर्थ्यौं । तर हिजो आज हामीलाई खोलामा पस्नै डर लाग्छ” घलेले भन्नुभयो।

सिद्धलेक गाउँपालिका वडा नम्बर १ नयाँबस्ती निवासी ईश्वरी अर्यालले नीलकण्ठ नगरपालिकाले थोपल खोलामा डम्पिङ गर्ने फोहोरले सबैभन्दा बढी असर आफूलाई परेको बताउनुभयो। खोलाले बगाएर ल्याएको फोहोरले धेरै पटक आफ्नो खेतबारीमा पस्दा हात खुट्टा काट्ने गरेको उहाँले बताउनुभयो। फोहोरकै कारण कतिपय किसानहरू हैरान भई खेतीपातीबाटै विमुख हुन पुगेको उहाँको दाबी छ ।

आफूले पनि कयौँपटक हालको डम्पिङ साइटलाई मानव बस्ती, जङ्गल र नदीखोला स्थानबाट टाढा व्यवस्थापन गर्न आग्रह गर्दा बेवास्ता गरिएको अर्यालले बताउनुभयो। “खेतबारीमा पस्न त डर लाग्छ, खोलामा पस्न त सक्ने कुरा नै भएन”, उहाँले भन्नुभयो।

भू-तथा जलाधार व्यवस्थापन कार्यालय धादिङका प्रमुख प्रदीप श्रेष्ठले त्यसरी पानीको मुख्य स्रोतका रूपमा रहेको जङ्गल र खोलामा फोहोरको व्यवस्थापनका लागि डम्पिङ साइट बनाउनु नै वातावरणीय हिसाबले गम्भीर त्रुटि रहेको बताउनुभयो । ज जसले त्यस्तो कार्य गरे पनि खोला किनारबाट डम्पिङ साइट हटाउनुको विकल्प नै नरहेको श्रेष्ठले बताउनुभयो।

जिल्ला वन डिभिजन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले जङ्गल र खोला क्षेत्रमा फोहोर डम्पिङ गरिनु मानव स्वास्थ्यका साथै जैविक विविधता र वातावरणमाथि धावा बोल्नु भएकाले नगरपालिकाले तत्कालै व्यवस्थित ल्याण्डफिड साइट बनाउनुपर्नेमा जोड दिनुभयो ।

नीलकण्ठ नगरपालिका कार्यालयका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख शाखा अधिकृत विनोद अर्यालले नगरपालिकाले दैनिक उत्पादन हुने फोहोरबाट वातावरणीय र मानवीय असर नपार्ने विषयमा पहिला बाटै गम्भीर बन्दै आएको बताउनुभयो । सिद्धलेक र आफ्नो पालिकाका बासिन्दाबाट आएको गुनासाहरूको सम्बोधन गर्नका लागि आफूहरू प्रयासरत रहेको उहाँले बताउनुभयो।

हालको स्थानबाट डम्पिङ साइटलाई हटाएर ल्याण्डफिड साइट निर्माणका लागि चार वटा स्थानमा जग्गा हेर्ने काम सकिएको अर्यालले बताउनुभयो । चालु आर्थिक वर्षबाटै दैनिक उत्पादन हुने फोहोरलाई घरघरमै छुट्याउन र व्यवस्थापन गर्नका लागि नगरवासीलाई तालिम दिने काम सकिएको उहाँको भनाइ छ ।

फोहोरलाई मोहोरमा परिणत गर्नका लागि यूएसएडको आर्थिक सहयोगमा तयार नेपाल नामक संस्थाले ४० लाख लगानी गरी घरमै कुहिने फोहोरबाट मल र नकुहिने फोहोरबाट हस्तकलाका सामाग्री उत्पादन सम्बन्धी तालिम प्रदान गरिसकेको उहाँले बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार