दिसाजन्य लेदो समेत प्रशोधन हुने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास (भिडियो)

  वास खबर सम्वाददाता  1636 पटक हेरिएको


काठमाडौ : दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागेको गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गरिएको छ। दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन गर्न मिल्ने फोहोरपानी प्रशोधन केन्द्रको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शिलान्यास गर्नुभयो।


आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत गोकर्ण फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो । आगामी एक बर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी TEAMS-BCPL JV- Nepal सँग ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले बताउनुभयो।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

यो खालको प्रशोधन केन्द्र नेपालमै पहिलो

आयोजना निर्देशक सापकोटाले दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागिएको यो नै पहिलो फोहोरपानी प्रशोधन केन्द्र भएको बताउनुभयो । उहाँले यसलाई देशका अन्य स्थानमा समेत अनुकरणयोग्य बनाउनुपर्नेमा जोड दिनुभयो ।


प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रममा आयोजना निर्देशक सापकोटाले भन्नुभयो ‘गुहेश्वरीमा अहिले हेर्नका लागि सयौं जना आउँछन्, यसलाई पनि नमुना बनाउनुपर्छ । यसका लागि कुनै सम्झौता हुने छैन ।’ उहाँले विकासको नेतृत्वकर्ता नै स्थानीय सरकार भएकाले प्रशोधन केन्द्र निर्माणको शीलशीलामा समस्या आएमा स्थानीय सरकारको सहयोग लिने बताउनुभयो ।

प्रशोधन केन्द्र निर्माणमा स्थानीय सरकारले देखाएको चासो र चिन्ताकै कारण यो अवस्थामा आउन सम्भव भएको उहाँको भनाइ थियो । ‘प्रशोधन केन्द्र निर्माण हुँदैन कि भन्ने अवस्थामा पुगिसकेको थियो, तर गोकर्णेश्वर नगरपालिकाको सहयोगबाटै यो सम्भव भयो’ उहाँले भन्नुभयो ।

उहाँले प्रशोधन केन्द्र निर्माणको काम र ढल प्रणाली निर्माणको काम सँगसँगै सम्पन्न हुने बताउनुभयो । ‘ढलको प्रणाली हाल्ने काम सँगसँगै प्रशोधन केन्द्र पनि सम्पन्न हुनेछ’ उहाँले भन्नुभयो । गोकर्ण ढल प्रशोधन केन्द्र सम्पन्न भएपछि पाँच बर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्ने र त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्ने भएकाले जनशक्तिको विकास पनि गर्दै लानुपर्ने उहाँले बताउनुभयो ।

आयोजना निर्देशक सापकोटाले गोकर्णेश्वरको विभिन्न वडाहरुमा खानेपानी आपूर्ति गर्न करिब २ अर्ब लागतमा खानेपानी प्रणाली निर्माणको काम समेत भैरहेको जानकारी गराउनुभयो ।


४ वटा केन्द्रिकृत र २ वटा विकेन्द्रिकृत प्रशोधन केन्द्र निर्माण हुँदै

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक योगेन्द्र चित्रकारका अनुसार गोकर्णेश्वरमा पहिले पनि ढल प्रशोधन केन्द्र थियो। तर बढ्दो शहरी जनसंख्याको अनुपातमा प्रशोधन केन्द्रको मर्मत सम्भार तथा विस्तार गर्न नसक्दा प्रशोधन केन्द्र निश्क्रिय भएको थियो।

यस अघि निर्माण भएका प्रशोधन केन्द्रहरुको मर्मत सम्भार गर्ने नीति अनुसार पुरानो ढल प्रशोधन केन्द्रलाई स्तरोन्नति तथा अत्याधुनिक बनाउने योजना अनुसार गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको पुनः निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

उहाँले विगतमा निर्माण भएका ढल प्रशोधन केन्द्रहरु नियमित मर्मत सम्भार हुन नसक्दा पूर्ण रुपमा सञ्चालन हुन नसकेको बताउनुभयो । सोही यथार्थतालाई मध्यनजर गर्दै नयाँ प्रशोधन केन्द्रहरु ५ देखि १० बर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्नुपर्ने सम्झौतामै उल्लेख भएकाले अब दिगोपनामा समस्या नहुने विश्वास व्यक्त गर्नुभयो ।


उहाँका अनुसार काठमाडौ उपत्यका भित्र ४ वटा केन्द्रिकृत र २ वटा विकेन्द्रिकृत फोहोरपानी प्रशोधन केन्द्रहरु निर्माण भैरहेका छन् । गोकर्णेश्वरमा शिलान्यास गरिएको प्रशोधन केन्द्र विकेन्द्रिकृत फोहोरपानी प्रशोधन केन्द्र हो । यस्तै प्रकारको अर्को प्रशोधन केन्द्र भक्तपुरमा निर्माण भैरहेको छ ।

हामीले बिगारेको हामीले नै सुधार्छौ : मेयर रिसाल

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले हामीले फोहोर बनाएको बागमती हामीले नै सुधार्नुपर्ने बताउनुभयो । उहाँले २५ बर्ष अघिको वागमतीको पानीमा नुहाएको, वागमतीकै पानी पिएको स्मरण गर्दै जनसंख्या वृद्धि र खोलामा ढल मिसाउने कार्यले वागमतीलाई प्रदुषित बनाएको बताउनुभयो ।

‘ढलहरु लगेर बागमतीमा हाल्ने काम जसले गर्‍यो, यो राम्रो भएन । हामीले विगतमा जे जत्ति गल्ती गर्‍यौं, अब सुधार्दै लैजानुपर्छ’ उहाँले भन्नुभयो ।

उहाँले गोकर्णेश्वरको वडा नं. १ देखि ४ सम्म कहीँ कतै पनि ढल नबिछ्याउने नीति तथा कार्यक्रममै प्रष्ट रुपमा उल्लेख गरिएको बताउनुभयो। ‘हामीले वडा नं. एक देखि ४ सम्मको भू भागमा सेप्टिक ट्याङ्क नै हुनुपर्ने नियम बनाएका छौं’ उहाँले भन्नुभयो।


उहाँले गोकर्णेश्वर एरियामा मात्र ७ वटा ढल वाग्मतीमा मिसाएको भेटिएको र ती मध्ये २ वटा हटाईसकेको र अझै ५ वटा ढल बाँकी रहेको जानकारी गराउनुभयो । त्यसलाई पनि हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय भैरहेको उहाँले जानकारी गराउनुभयो।

प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रममा वडा नं. ४ का अध्यक्ष जयराम महतले प्रशोधन केन्द्र निर्माणको शीलशीलामा कुनै पनि समस्या आए त्यसको समाधानको लागि अग्रसरता लिने बताउनुभयो। ‘केही परे साइट क्लियर गर्न तयार छौं । स्थानीय सरकारले गर्नुपर्ने कामहरु हामी गर्छौ’ उहाँले भन्नुभयो ।

वडाध्यक्ष महतले सम्झौता अनुसार नै काम हुनुपर्ने र तोकिएकै समयमा काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो।

२ हजार ६६ वर्ग फिटमा फैलिने प्रशोधन केन्द्रको लागत भ्याट बाहेक ३७ करोड, २ लाख ९३ हजार ३०७ रुपैयाँ रहेको छ । प्रशोधन केन्द्रको लम्बाई २४ मिटर र चौडाइ ८ मिटर हुने आयोजना प्रबन्धक योगेन्द्र चित्रकारले बताउनुभयो।

फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा ERMC/TAEC को सहकार्यमा DOHWA ईन्जिनियरिङ्ग कम्पनी लिमिटेडले परामर्शदाता कम्पनीको रुपमा काम गरिरहेको छ ।

प्रशोधन केन्द्रको डिजाइन

शिलान्यास कार्यक्रमका थप फोटोहरु :

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार