म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको मौरिस हर्गोज पदमार्गमा एक प्रवासी युवतीले सरसफाइ तथा खानेपानीको पूर्वाधार निर्माण गर्नु भएको छ।
रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दाताको सहयोग जुटाएर अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने मौरिस हर्गोज पदमार्गको सन्धिखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्नुभएको हो।अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदा सार्वजनिक शौचालय, खानेपानी र फोहोर व्यवस्थापनको सुबिधा नभएकाले त्यसको आवश्यकता महसुस भएको ललिताले बताउनुभयो। त्यसपछि शौचालय बनाउन सामाजिक सञ्जाल मार्फत अपिल गरेको र दाताहरूको सहयोगले बर्षायामका बाबजुद पनि निर्माण गर्न सफल भएको बताउनु भयो।
अध्ययनका लागि अष्ट्रेलिया गएकी शेरपुञ्जा हाल सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ मा भाग लिन नेपाल आउनु भएको हो। शौचालय निर्माणका लागि मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङ र नारच्याङका तम चोचांगी पुनलाई शेरपुञ्जाले ४ लाख ६० हजार रुपैयाँ पठाउनु भएको थियो। ललिताको शौचालय अभियानमा अन्य दाताहरूले पनि सहयोग गरेका थिए।
शेरपुञ्जाले पठाएको रकमबाट १५ दिनसम्म ८ जना मजदुर परिचालन र निर्माण सामग्री खरिद, ढुवानी गरी शौचालय, खानेपानी आपूर्ति र फोहोर व्यवस्थापन गर्ने खाडल बनाएको चोचांगीले बताउनुभयो। सार्वजनिक शौचालयको अभावमा पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरहरूलाई असहज भएको थियो। वातावरण प्रदूषण न्यूनीकरण, सरसफाइ कायम र पर्यटकको सुविधाका लागि सार्वजनिक शौचालय बनाएको ललिताले बताउनुभयो।
८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण दलको नेतृत्व गरेका फ्रान्सका मौरिस हर्गोजको सम्मानमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्गको नामकरण गरिएको छ। अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक मानव पाइला परेको हिमाल भएकाले यसको नेपालको आरोहण पर्यटनमा महत्व छ। सन् १९५० जुन ३ गते अन्नपूर्णको सफल आरोहण भएको थियो।
प्रथम आरोही मौरिसको पाइला पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा पहिचान भएको पदमार्ग विसं २०७७ देखि सञ्चालन भएको थियो। नारच्याङदेखि २० किलोमिटर टाढा हुमखोलासम्म नीलगिरि खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग छ।
हुमखोलादेखि आधार शिविर जोड्ने २२ किलोमिटर लामो पदमार्ग, खोलाहरूमा झोलुंगेपुल, आश्रयस्थल निर्माण गरिएको छ। एकै दिनको पैदलयात्रामा आधार शिविर पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको छ।