खानेपानी विभागको प्रगति खुम्चियो, गत आर्थिक बर्षमा ६८.३९ प्रतिशत प्रगति

  वास खबर सम्वाददाता  441 पटक हेरिएको

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक बर्षको प्रगति अघिल्लो बर्षको तुलनामा खुम्चिएको छ । अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा ८० प्रतिशत भन्दा बढी प्रगति हासिल गरेको विभागले गत आर्थिक बर्ष २०८०/०८१ मा ६८.३९ प्रतिशत मात्र प्रगति हासिल गर्न सकेको हो।

तर त्रिबर्षीया आँकडालाई तुलना गर्ने हो भने यो प्रगति आर्थिक बर्ष २०७८/०७९ को भन्दा ७ प्रतिशतले बढी हो । आर्थिक बर्ष २०७८/०७९ मा खानेपानी तथा ढल व्यवस्थापन विभागले समग्र प्रगति ६१.२७ प्रतिशत हासिल गरेको थियो।

विभागले चाहिए जत्ति प्रगति हासिल गर्न नसक्नुमा धेरै कारणहरु रहेको र ती मध्ये स्रोत सुनिश्चित हुन नसक्नु प्रमुख कारण रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका आयोजना प्रमुखहरुले बताएका छन् ।


आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रगति समीक्षा गोष्ठीमा अधिकांश आयोजना प्रमुखहरुले उपभोक्ता श्रमदान नगर्नु, जग्गा व्यवस्थापन नहुनु, उपभोक्ताको तर्फबाट अग्रीम नगद संकलन नहुनु, खानेपानीको स्रोत विवाद हुनु, एकदम न्यून बजेट विनियोजन हुनु र दोहोरोपना हुनु लगायत कारणले चाहे जत्ति प्रगति हासिल गर्न नसकेको बताउनुभयो।

गत आर्थिक बर्षको प्रगति समीक्षा गोष्ठीमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले भौतिक प्रगति ७९.२५ प्रतिशत भए पनि वित्तिय प्रगति ६८.३९ प्रतिशत मात्र भएको बताउनुभयो। उहाँले खानेपानी आयोजनाको पूर्वाधार निर्माणको काम भए पनि रकमान्तर हुन नसक्दा वित्तिय प्रगति कम देखिएको बताउनुभयो।


‘रकमान्तर गर्न सकेको भए हाम्रो प्रगति ८० प्रतिशत नजिक नै हुन्थ्यो, तर रकमान्तर हुन नसक्दा भौतिक प्रगति भन्दा आर्थिक प्रगति केही काम देखिएको छ’ उहाँले भन्नुभयो। उहाँले चालु आर्थिक बर्षका लागि गत आर्थिक बर्षको तुलनामा केही बढी रकम विनियोजन भएको र विभागको यो टिमले उच्च प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

खानेपानी सचिव सुरेश आचार्यले समेत खानेपानी विभागका महानिर्देशक र खानेपानीमन्त्री दुवै नौजवान रहेकाले विभागले चालु आर्थिक बर्षमा उच्च प्रगति निकाल्ने विश्वास व्यक्त गर्नुभयो।


प्रगति समीक्षा गोष्ठीको समापन सत्रमा खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी विभागलाई नयाँ उचाईमा पु¥याउन सबै एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले नीति निर्माणको तहमा आईपरेका समस्या मन्त्रालयले समाधान गर्न प्रयास गर्ने कुुरामा कुनै कसर बाँकी नराख्ने बचन व्यक्त गर्नुभयो। मन्त्री यादवले विभागको नेतृत्व महानिर्देशकले गर्ने र महानिर्देशकलाई सम्पूर्ण आयोजना कार्यालयका प्रमुख, आयोजना व्यवस्थापन कार्यालयका आयोजना निर्देशकले साथ दिएमा मात्र सोचेको प्रगति हासिल गर्न सकिने बताउनुभयो।


दुई दिनसम्म सञ्चालित प्रगति समीक्षा गोष्ठीमा आयोजनाको जिल्लागत विवरण, आयोजनागत बार्षिक प्रगति, आयोजना कार्यान्वयनको अवस्था, हालसम्म काम नभएका आयोजनाहरुको संख्या, चालु आर्थिक बर्षमा ठेक्का सम्झौता भएका खानेपानी आयोजनाका बिषयमा हरेक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख र विभिन्न आयोजना व्यवस्थापन कार्यालयका आयोजना निर्देशकहरुले बृहत छलफल गरेका थिए।

यस्तै २०८१/०८२ मा स्रोत सहमतिका लागि तयार भएका खानेपानी आयोजना, आयोजना कार्यालयको बेरुजु र बेरुजु फछ्र्यौटको अवस्था, आयोजनाको समस्या, प्रशासनिक समस्या लगायत बिषयमा पनि छलफल गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार