हैजा देखिएको स्थानमा पानी एम्बुलेन्स मोबाइल भ्यान परिचालन

  वास खबर सम्वाददाता  556 पटक हेरिएको

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले काठमाडौं उपत्यका लगायत हैजा देखिएको स्थानमा पानी एम्बुलेन्स मोबाइल भ्यान परिचालन गरेको छ । हैजा लगायत पानीजन्य रोगहरु देखिएको स्थानमा खानेपानी परिक्षण गर्न पानी एम्बुलेन्स मोबाइल भ्यान र जनशक्ति परिचालन गरिएको खानेपानी गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो।

उहाँका अनुसार ती स्थानमा पानी परिक्षण गर्ने काम गरिनुका साथै पानी शुद्धिकरणका लागि आवश्यक सामाग्री समेत वितरण गरिएको छ ।

ललितपुरको गोदावरी लगायत स्थानमा हैजा भएको पुष्टि भएपछि खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ भक्तपुरले समेत खानेपानी गुणस्तर परिक्षण गर्ने कार्यमा सहयोग गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी गुणस्तर शाखा समक्ष पत्राचार गरेको थियो।

ललितपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्वास्थ्य संकट व्यवस्थापन सम्बन्धी बैठकले ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका लगायतका क्षेत्रभित्र आपूर्ति गरिएका खानेपानीको स्रोत, मुहान, ट्याङ्की लगायतको खानेपानीको गुणस्तर परिक्षण गर्नका लागि आवश्यक पानी गुणस्तर एम्बुलेन्स उपलब्ध गराउन विभागलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भैसकेको छ ।

सहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका कारणले खानेपानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण हैजाको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार