काठमाडौं : हालसम्म देशभर ४७ जना बिरामीमा हैजा भएको पुष्टि भएको छ। काठमाडौं, ललितपुर, कैलाली, प्युठान र रुपन्देहीमा गरी ४७ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको हो।
उहाँले सहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका कारणले खानेपानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिएको बताउनुभयो।
हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ। सङ्क्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने डा. दाहालले बताउनुभयो।
‘हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ। हैजा सङ्क्रमित मध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिसामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ। २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्’ उहाँले भन्नुभयो।
झिगा भन्केको, बासी, सडे गलेको, नपाकेको, चिसिएको खुला स्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ।