काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित तपाईका केही गुनासा छन् ? गुनासा सुनाउने ठाउँ नपाएर मनमा गुम्साई राख्नु भएको छ कि ? तर अब गुनासो सुन्ने अधिकारी नभएकै कारण गुनासो लाई मनमै दबाई रहनुपर्ने छैन ।
किनकि यसैका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले कल सेन्टर स्थापना गरेको छ । खानेपानी, सरसफाइ र स्वच्छता (वास) सँग सम्बन्धित गुनासो सुन्न मात्र नभई सो गुनासोको उचित सम्बोधन पनि गर्ने उद्देश्यले कल सेन्टर स्थापना गरेको विभागले जनाएको छ ।
विभागका अनुसार कल सेन्टरमा कम्प्युटर इञ्जिनियर निरज ठगुन्नाको मातहतमा कम्प्युटर अपरेटर सुभद्रा अधिकारी र अर्का कर्मचारी लक्ष्मी न्यौपाने आचार्य लाई जिम्मेवारी दिईएको छ । कल सेन्टरमा टेलिफोन र इमेल मार्फत प्राप्त गुनासोहरुको सूची तयार गरी उक्त गुनासो सम्बन्धित शाखा वा महाशाखामा सुनुवाईका लागि पेश गरिने कल सेन्टरले जनाएको छ ।
गुनासाहरु टिपाउनका लागि कल सेन्टरमा ०१- ४५१३७४४ र ०१- ४५१३६७० नम्बर को व्यवस्था गरिएको छ । उल्लेखित दुवै नम्बरमा कार्यालय समय भित्र फोन गरेर गुनासो टिपाउन सकिने कल सेन्टरकी लक्ष्मी न्यौपाने आचार्यले बताउनुभयो। आफ्ना गुनासा gunaso.khanepani@gmail.com मा इमेल गर्न पनि सकिने कल सेन्टरले जनाएको छ ।