उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण हुँदै

दैनिक १ लाख ६० हजार लिटर प्रशोधन हुने

  वास खबर सम्वाददाता  638 पटक हेरिएको


काठमाडौ : काठमाडौ उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भैरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत फोहोरपानी प्रशोधन केन्द्र सँगै दिसाजन्य लेदो प्रशोधन केन्द्र पनि निर्माण गरिरहेको हो ।

पिआईडीले काठमाडौको गोकर्ण, ललितरको कोड्कु (बालकुमारी) र ललितपुरको धोबीघाटमा फोहोरपानी प्रशोधन केन्द्र सँगै दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिरहेको जनाएको छ।

तीनै वटा स्थानमा निर्माण भैरहेको दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि दैनिक १ लाख ६० हजार लिटर दिसाजन्य लेदो प्रशोधन हुने आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) को परामर्शदाता कम्पनी DOHWA ईन्जिनियरिङ्ग कम्पनी लिमिटेडका परामर्शदाता प्रेम कुमार श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार गोकर्णमा दैनिक १० हजार लिटर प्रशोधन क्षमताको दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भैरहेको छ । यस्तै धोबीघाटमा निर्माण भैरहेको प्रशोधन केन्द्रको ७५ हजार लिटर प्रशोधन क्षमता रहेको छ भने कोड्कु (बालकुमारी) को प्रशोधन केन्द्रको पनि दैनिक ७५ हजार लिटर प्रशोधन क्षमता रहेको छ।

‘तीन वटै स्थानमा प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि दैनिक ५५ ट्याङ्कर जत्ति दिसाजन्य लेदो प्रशोधन गर्न सकिन्छ’ उहाँले भन्नुभयो।

उहाँका अनुसार धोबीघाटमा ३ करोड ७० लाख क्षमताको फोहोरपानी प्रशोधन केन्द्र निर्माण भैरहेको छ। गोकर्णमा दैनिक ३० लाख लिटर र कोड्कु (बालकुमारी) मा दैनिक १ करोड ७५ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका प्रशोधन केन्द्र निर्माण भैरहेको छ ।

आगामी सन् २०३० सम्ममा काठमाडौँ उपत्यकामा वृद्धि हुने जनसंख्या र बढ्दो खानेपानीको मागका आधारमा प्रतिदिन करिव ४९ करोड लिटर फोहोरपानी उत्सर्जन हुने अनुमान गरिएको छ। हाल काठमाडौँ उपत्यकामा दैनिक करिब २३ करोड लिटर फोहोरपानी उत्सर्जन हुने गरेको काठमाडौ उपत्यका लिमिटेड (केयूकेएल) ले जनाएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार