रोल्पाका चार जनामा हैजा संक्रमण

  वास खबर सम्वाददाता  359 पटक हेरिएको

काठमाडौं : रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा संक्रमण भएको पुष्टि भएको छ । एउटै वडाका चार जनामा हैजा पुष्टि भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताले जानकारी दिनुभयो।

संक्रमित हुनेमा ८० बर्ष, २६ बर्ष र १८ वर्षका तीन महिला तथा ८ वर्षका एक बालक छन् । यो सँगै यस वर्ष हैजाबाट संक्रमित हुनेको संख्या ७१ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एक जनामा यसअघि नै हैजा संक्रमण पुष्टि भएको थियो ।

हैजा पुष्टि भएका अधिकांश निको भइसकेका छन् । चिकित्सकका अनुसार हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजा खानेपानी र दुषित खानेपानीको माध्यमबाट सर्छ । सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् । गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्यु समेत हुनसक्ने चिकित्सक बताउँछन् ।

हैजाको संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिने, दिशा गरेपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, पानी उमालेर पिउने तथा काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली मात्र खाने बानी बसालेमा बच्न सकिने चिकित्सक बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार