सिमकोट : नेपाल र चीनको सिमाना हिल्सामा सार्वजनिक शौचालय निर्माण भए पनि खुल्ला ठाउँमै शौच गर्न बाध्य छन् । शौचालय निर्माण सम्पन्न भए देखि नै ताला लगाएका कारण शौचालय सञ्चालनमा नआएको हो ।
नयाँ निर्माण भएको शौचालयमा कसले ताला लगाएको हो भन्ने समेत हिल्सावासीलाई जानकारी छैन । शौचालय निर्माण भएर एक पटक पनि प्रयोगमा नआएको हिल्साका स्थानीय जुम्कित तामाङले बताउनुभयो। ‘हिल्सावासीका लागि निर्माण गरिएको शौचालय निर्माण कार्य सम्पन्न भएदेखि एक पटक पनि प्रयोगमा आएको छैन’ उहाँले भन्नुभयो ‘शौचालय नहुँदा यहाँ आउने मानिसहरुले खुला ठाउँमै दिसापिसाब गर्छन् ।’
बिशेष गरी चीनको ताक्लाकोट जानका लागि आएका मानिसहरुले बास पाए पनि शौचालको व्यवस्था नहुँदा खुल्ला स्थानमा शौच गर्नु परेको छ । जथाभावी शौच गर्दा हिल्सा बजार दुर्गन्धित भएको छ। शौचालय निर्माण भए पनि त्यहाँ पानीको समेत ब्यवस्था गरिएको छैन् ।
ठूलो होटेलमा बाहेक अन्य अधिकाँश घरमा शौचालय नभएका कारण खुल्ला स्थानमै शौच गर्दा दुर्गन्ध फैलिएको हिल्साका स्थानीय ब्यापारी छिरिङ लामाले बताउनुभयो। बस्ने घर बनाएको भएपनि शौचालय नबनाउँदा यो समस्या देखिएको उहाँले बताउनुभयो।
नयाँ निर्माण गरिएको शौचालयलाई पानीको ब्यवस्था गरेर हिल्सा बजारलाई सफा बनाउने काममा गाउँपालिकाले सहयोग गर्नुपर्ने स्थानीय बताउँछन्। गाउँपालिकाले भने शौचालय प्रयोगमा ल्याउनका लागि हिल्साबासीले सहयोग गर्नु पर्ने जनाएको छ । हिल्सामा स्थापना भएको प्रहरी चौकीले पनि शौचालय सञ्चालनको प्रयास गरिरहेको भएपनि त्यो सफल हुन सकेको छैन ।