
बाँके : बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३, गेगली गाउँमा एक्कासि फैलिएको झाडापखालाबाट १० जना बिरामी परेका छन् भने आइतबार चार जनाको मृत्यु भएको हो ।
नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राका अनुसार हरिराम पासीकी श्रीमती २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, मोहनलाल पासीकी श्रीमती ६० वर्षीय शान्ति पासी र सखावत अलीको १० वर्षको छोरा युसुफको मृत्यु भएको हो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउना साथ आफू लगायत स्वास्थ्य चौकीका सिनियर अहेब तैयब अहमद र अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको जानकारी दिनुभयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले झाडापखाला नियन्त्रण गर्न आवश्यक परे थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क भइरहेको जानकारी दिनुभयो । अत्यधिक गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
यसै गरी भेरी अस्पतालमा पनि नेपालगन्जका तीन जना झाडापखालाका बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो


414 पटक हेरिएको 

