भैरव रिसाल मिडिया फेलोसिप पत्रकार सीमा तामाङलाई, टेम्पो चालक कुमाललाई राजु मेमोरियल युथ अवार्ड

  वास खबर सम्वाददाता  675 पटक हेरिएको

काठमाडौ : भैरव रिसाल मिडिया फेलोसिप – २०८१ पत्रकार सीमा तामाङलाई प्रदान गरिएको छ। ‘काठमाडौ उपत्यकामा निर्माण भैरहेका फोहोरपानी प्रशोधन केन्द्रहरुको अवस्था र यसको आवश्यकता’ बारे खोजमूलक स्टोरी तयार पार्न तामाङलाई मिडिया फेलोसिप प्रदान गरिएको हो ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले वातावरणीय पत्रकारितामा खोजमूलक तथा सिर्जनात्मक रचना गर्ने पत्रकार मध्ये एक जना पत्रकारलाई एन्फोको वार्षिक साधारण सभाको अवसर पारी भैरव रिसाल मिडिया फेलोसिप प्रदान गर्दै आएको छ। फेलोसिपको राशी २५ हजार रुपैयाँ रहेको छ।

एन्फोको ३३ औं साधारण सभाको अवसरमा साल बसाली प्रदान गर्दै आएको राजु मेमोरियल युथ अवार्डबाट यसबर्ष संगीता कुमाललाई सम्मान गरिएको छ । संगीता कुमाल सफा टेम्पो चलाउनुहुन्छ । उहाँले सफा टेम्पो चलाएर वायु प्रदुषण न्यूनीकरणमा योगदान दिए बापत यो बर्षको राजु मेमोरियल युथ अवार्ड प्रदान गरिएको हो। एन्फोमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील राजु श्रेष्ठ युवा अवस्थामै सन् २०११ मा स्वर्गारोहण हुनुभएको थियो। उहाँकै सम्झनामा उक्त पुरस्कारको स्थापना गरिएको हो ।


विज्ञान मेमोरियल रिसर्च अवार्ड सागर गोसाईलाई प्रदान गरिएको छ। २४ जना वातावरणविदहरुको ज्यान जाने गरी ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनुभएका विज्ञान आचार्यको सम्झनामा उक्त पुरस्कारको स्थापना गरिएको हो । २०६३ साल असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । सरकारले सोही दिनको स्मरण गर्दै ७ असोजलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालेको छ ।

हुताराम इन्भारोमेन्ट अवार्ड २०२४ बाट लक्ष्मी डंगोललाई सम्मान गरिएको छ। सम्मानित डंगोल लाई प्लाष्टिकलाई पुनःप्रयोग गरी विभिन्न सामग्रीहरु बनाएर वातावरण संरक्षणमा पु¥याएको योगदान बापत पुरस्कृत गरिएको हो ।

उहाँले विभिन्न प्लाष्टिकका सामानहरु निर्माण गर्ने र छिमेकी दिदीबहिनी तथा आफ्नो संगठन भित्र आवद्ध दिदीबहिनीलाई समेत सीप सिकाउनु हुन्छ । नेपालको पहिलो कृषि इन्जिनियर हुताराम बागमती सभ्यताको संरक्षणमा सक्रिय संरक्षणकर्मी हुनुहुन्छ । उहाँकै सम्मानमा एन्फोले वातावरण क्षेत्रमा योगदान पु¥याउने एक जनालाई हुताराम इन्भारोमेन्ट अवार्ड प्रदान गर्दै आएको छ ।

महर्जन भए ‘एन्फो तारा २०८१’

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का वित्त अधिकृत (फाइनान्स अफिसर) राजेन्द्र महर्जनले यसबर्षको ‘एन्फो तारा’ को उपाधि प्राप्त गर्नुभएको छ । एन्फोले सन् २००५ देखि आफ्नो कर्मचारी मध्येबाट उत्कृष्ट कर्मचारी चयन गरी बार्षिक साधारण सभाको अवसरमा ‘एन्फो तारा’ उपाधिबाट सम्मान गर्दै आएको छ ।


यस्तै फस्ट रनर अफ प्रोजेक्ट अफिसर सुमा महर्जन र सेकेण्ड रनर अफ फाइनान्स अफिसर सुरज सोङामिखालाई प्रदान गरिएको छ ।

साधारण सभामा एन्फोका कार्यकारी निर्देशक भावना शर्माले विभिन्न साझेदार संस्थाहरुसँगको सहकार्यमा एन्फोले सञ्चालन गरिरहेको १३ वटा परियोजनाहरुको प्रभाव र लाभान्वित समुदायको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यस्तै संस्थाका कोषाध्यक्ष प्रताप कुमार आचार्यले आर्थिक बर्ष २०८०/०८१ को वास्तविक आय व्यय र आर्थिक बर्ष २०८१/०८२ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभयो ।

साधारण सभाका सभापति एवं संस्थाका अध्यक्ष राजीव जोशीले दिगो विकास लक्ष्य ६ र सरकारले खानेपानी र सरसफाइमा राखेको लक्ष्यहरु हासिल गर्नका लागि एन्फोले विभिन्न तवरले मद्दत पुर्‍याईरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार