
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर सहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतले उक्त भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो।
‘प्रतिवादी गजेन्द्रकुमार ठाकुर मेलम्ची खानेपानी समितिको अध्यक्ष र प्रतिबादी सूर्यराज कडेल सो समितिको कार्यकारी निर्देशकको रुपमा कार्यरत रहेको देखिन्छ। निज प्रतिवादीहरु समितिको निर्णायक तहमा रहेकोमा विवाद छैन। निजहरु कार्यरत रहेको अवधिमा IPC 41 Original मा उल्लिखित कट्टा गर्नु पर्ने रकम कट्टा नगर्ने गरी मिति २०७४/०३/२८ को २८३ औं बैठकबाट निर्णय गराएको पाइन्छ। सो निर्णयको कारणले असुल गर्नु पर्ने रकम असुल हुन नसकी नेपाल सरकारलाई हानि नोक्सानी र ठेकेदार कम्पनीलाई लाभ पुग्न गएको देखिन्छ। उक्त कार्यको प्रकृतिबाट नै प्रतिवादीहरुले सो कार्य बदनियत पूर्वक गरेको देखिन्छ। तसर्थ, निज प्रतिवादीहरुले आरोप दाबी बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको ठहर्छ’अदालतको फैसलामा भनिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो माग गरेको छ । त्यस्तै देवकोटा शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ । इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ ।
इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ । विशेष अदालतले उनीहरुमाथि सजाय र जरिवानाका लागि अर्को पेशी तोक्नु भनी आदेश दिएको छ ।
अदालतले सोही मुद्दामा १० जनालाई भने सफाइ दिएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेलले सफाइ पाएका छन् । खानेपानी मन्त्रालयका सचिव मेलम्ची खानेपानी विकास समिति बोर्डको पदेन अध्यक्ष हुने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्व सचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको थियो ।
उनीहरुमाथि ६ करोड ९७ लाख रुपैया बिगो मागदाबी थियो । तत्कालिन सचिव भीमप्रसाद उपाध्यायविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो मागदावी थियो ।
काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत एवं मेलेम्चीको बोर्ड सदस्य रुद्र सिंह तामाङले सफाइ पाएका छन् । अध्यागमन विभागका महानिर्देशक रहेका बेला मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए ।
बोर्डका अर्का सदस्य चन्द्रबहादुर थापाले पनि सफाइ पाए । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईले पनि सफाइ पाएका छन् ।
मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजबिक्रम थापा, लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले पनि सफाइ पाए ।
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रुपैयाँ राज्यकोषमा नोक्सानी भएको निचोड सहित मुद्दा दायर गरेको थियो ।
हेर्नुस् फैसलाको पूरा विवरणः
melemchi-judgement

776 पटक हेरिएको 

