गोदावरीमा नगरव्यापी समावेशी सरसफाइ अवधारणा सम्बन्धी तालिम

  वास खबर सम्वाददाता  595 पटक हेरिएको


ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ (CWIS) अवधारणा सम्बन्धी तालिमको आयोजना गरेको छ। वाटर एड नेपाल, गोदावरी प्रावल्य वासको सहयोगमा गोदावरी नगरपालिकाले तीन दिने ३ दिने नगरव्यापी समावेशी सरसफाइ तालिम आयोजना गरेको हो । गोदावरी नगरपालिकाका वडा अध्यक्षहरु, नगरपालिकाका शाखा प्रमखुहरु, कर्मचारी एवं निजी क्षेत्रलाई लक्षित गरी तालिमको आयोजना गरिएको हो।


नगर प्रमुख, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितको सहभागितामा सुरुवात भएको तालिमको उदघाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत मान वहादुर खड्काले गोदावरीमा हाल सालै लागु गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई कार्यान्वयन गर्न सहयोग पुग्ने हेतुले तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले तालिम पश्चात आ आफनो निकायमा नगरव्यापी समावेशी सरसफाइ योजना निर्माण गर्न अनुरोध गर्नुभयो।

उद्घाटन सत्रको समापनमा वोल्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकाले स्वच्छ खानेपानी र दिसाजन्य लेदो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पाँच वर्ष अगाडि नगरपालिकामा दिनहुँ जसो खानेपानीको माग लिएर नगरपालिकामा आउने गरे पनि अहिले पानीको माग गरेर आउनेको संख्या त्यत्ति धेरै नभएको बताउनुभयो।


वजेटको अभावले गर्दा सोचे जति काम गर्न नसकिएपनि, वार्षिक रुपमा थोरै थोरै गर्दै पनि गोदावरी नगरपालिकाले खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा काम गरिरहेको उहाँको भनाइ थियो। सुरक्षित खानेपानीको लागि वडा नं. ६ मा एक घर एक धाराको अभियान सम्पन्न भईसकेको र वडा नं. १, ५ र ८ मा समेत काम भईरहेको उहाँले बताउनुभयो।

‘यो वर्ष गोदावरी नगरपालिकाको वडा नं. ११ को पागावनमा फोहोरपानी प्रशोधन केन्द्रको पुनः सञ्ंचालन साथै दिसाजन्य लेदो प्रशोधन केन्द्रको लागि यस आर्थिक वर्षको लागि ५० लाख विनियोजन गरिएको छ’ नगर प्रमुख महर्जनले भन्नुभयो ‘ठैवमा रहेको प्रशोशन केन्द्रको मर्मत तथा सम्भारको लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय भईराखेको छ ।’

उहाँले सरसफाइमा लगानी गर्नु भनेको जनस्वास्थ्यमा लगानी गरेको बताउँदे युरोप, भारत र वंगालदेशको भ्रमणमा जाँदा नेपालमा पनि सरसफाइको क्षेत्रमा केही गर्न सकिने रहेछ भन्ने ठानेर वडा नं. ३ र ६ मा स्मार्ट शौचालय निर्माणको लागि काम भईरहेको बताउनुभयो । ‘सवैको अर्थपूर्ण सहभागिता बिना विकास असम्भव भएको हुँदा सवैले सहयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘गोदावरी नगरपालिकाले गरेका राम्रा कामको वारेमा अरुलाई पनि जानकारी गराउनु पर्छ।’


आर्थिक अभावका कारण कतिपय अवस्थामा एकै बर्षमा सम्पन्न गरिसक्नु पर्ने कामलाई पनि ७ वर्ष सम्म लाग्ने गरेको र लामो समयको अन्तराल भएपनि कामको गुणस्तर राम्रो रहेको उहाँको भनाइ थियो।

तालिमको पहिलो दिन गोदावरी प्रावल्य वासका कार्यक्रम संयोजक आनन्द गौतमले गोदावरी नगरपालिकाको हालको सरसफाइको अवस्था सहित नगरव्यापी समावेशी सरसफाइ अवधारणाको परिचय, उद्देश्यहरु तथा सिद्धान्तहरुको वारेमा प्रकाश पार्नु भयो ।


जन स्वास्थ्यको रक्षाको लागि सरसफाइलाई विशेष महत्व दिएर काम गर्नुपर्ने उहाँले वताउनु भयो। कार्यक्रमको उद्घाटन सत्रमा गोदावरी नगरपालिकाको वातावरण तथा विपद् शाखा प्रमुख अनिता वोहोराले गोदावरीमा सरसफाइकर्मीहरुको स्वास्थ्य अवस्था, घरायसी चर्पीको अनुगमनबारे जानकारी गराउँदै नगरपालिकाले सरसफाइमा अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो।

तालिममा नगरव्यापी समावेशी सरसफाइमा समानताको महत्व र सुरक्षा कति आवश्यक छ भन्ने सम्वन्धमा खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर सञ्जु लामिछाने र पत्रकार सविन शर्माले सत्रहरु सञ्चालन गर्नु भएको थियो ।

तालिम बिहीबार सकिनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार